काठमाडौं, २८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयु अब बढिमा दुई महिनामात्रै रहेको दाबी गरेका छन् ।
पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बाग्मती प्रदेशको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना एवम् दशैं÷तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
पाण्डेले भने–‘अहिले जुन स्थिति कोशीमा देखा परेको छ । यसले के संकेत गरिरहेको छ भने । एक/दुई महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणतर्फ जान्छ भन्ने मैले देखिराखेको छु । मंसिरसम्म यो सरकारको आयु २ महिना राखिदिए हुन्छ भन्नेमा छु । त्यसपछिको स्थिति नयाँ ढंगले जानेछ । मैले केही सूचना, केही तथ्य, र केही विश्लेषणको आधारमा भनिरहेको छु । त्यसै सुनेको भरमा भनेको छैन् ।’
गठबन्धन बलियो बनाउने भनेर प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको दस्तखत आउनुमा आत्मसन्तुष्टिबाहेक यसको भूमिका नरहेको पनि उनको जिकिर छ ।
।