–लक्ष्मी गारु / रासस भादगाउँ, ३० असोज । आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाका दिनसम्म नवदुर्गा भवानीलाई आह्वान गरी मनाइने चाड हो बडादसैँ । यहाँ नेवार समुदाय बडादसैँलाई मोहनी नखाःका रूपमा मनाउँछन् ।
यस पर्वलाई ठाउँ विशेष अनुसार दसैँ, दुर्गापूजा, विजयादशमी, नवरात्रि पनि भन्ने गरिन्छ । महिषासुरलाई नवदुर्गा भवानीले आफ्नो सौन्दर्यले मोहनी लगाई बसमा पारेर बध गरेकीले नेवार समुदायमा दसैँलाई मोहनी नखाः भन्ने गरिएको संस्कृतिकर्मी ओम धौभडेल बताउछन् ।
प्रत्येक वर्ष घण्टाकर्ण पर्वका दिनदेखि नवदुर्गाको मुकुण्डो बनाउने कार्य सुरु हुन्छ । महानवमीको राति मांसाहुती यज्ञ गरी महिषासुर राक्षसको प्रतिक खम्येको बली दिएर ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवीले सिद्धि प्राप्त गर्दछन् । नवरात्रिमा ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, ईन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, एकान्त कुमारी देवगृह र तलेजुमा विशेष मेला लाग्दछ ।
यो चाड १५ दिनसम्म मनाइने भए पनि विषेशगरी सप्तमीदेखि विजयादशमीसम्म बडो हर्षोल्लासका साथ मनाइने परम्परा छ । सप्तमीका दिन नेवार समुदायले घरघरमा फूलपाती र राँगोको मासु भित्र्याउने स्याकोट मनाउँछन्। विजयादशमीका दिन तलेजुलाई आफ्नो देवगृहबाट कुमारी चोक (दसैँं घर) मा स्थानान्तरण गरिन्छ । यसलाई द्यः क्वहा विज्याइगु (देवता तल आएको) भनिन्छ ।
महाअष्टमीको दिनमा दसैँका लागि गुठीबाट ल्याएको मासु पूजा गरेर भित्र्याइन्छ । उक्त दिन बिहानै स्नान गरी देवीलाई पूजा गरेर सम्ये खाने र बेलुका कुछि भ्वय (दुई मानाको भोज) खाने गरिन्छ । विशेषगरी केराको पातमा राखेर खाने यो भोजमा दुईमाना चिउरा, छोयला, अण्डा, माछा, अम्बा, केरा, बारालगायत १२ थरी पकवान समावेश हुन्छ । सो दिन १८ भुजा भएको भगवतीलाई आह्वान गर्न डमरु, घण्टा, शङ्ख बजाइ पूजा गरिने र राति व्यासीबाट निकुथु (राँगा) जात्रा गरी तलेजुमा भित्र्याइन्छ ।
कालरात्रिमा तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्यद्वारा विधिवत् रूपमा पूजा गरी निकुथुसहित २५ राँगालाई बलि दिइन्छ । पूजामा तलेजुलाई ८४ प्रकारका रोटीको मन्दिर बनाइ चढाइने र विजयादशमीको दिनमा सोही मन्दिर प्रसादको रूपमा बाँडेर खाइन्छ। महानवमीको दिनलाई दसैँको महत्वपूर्ण दिनको रूपमा लिइन्छ । यसदिन तलेजुलगायत हरेकको घरमा आफ्ना काम गर्ने औँजार, हातहतियार, सवारीसाधन, किताब पूजा गर्नाका साथै भगवतीलाई भोग पनि दिइन्छ । यसैगरी एक प्रकारको दियो बालेर सो दियोमाथि माटोको सलिचा घोप्टो पारेर राखेर मोहनी बनाउने गरिन्छ ।
घरमा सुख शान्ति र श्री प्राप्तिका लागि बेलविवाह नगरेका बालिकालाई जीवितदेवी कुमारी मानी सिङगारपटार गरेर नयाँ लुगा, चुरा, पञ्चामित्र दिएर ढुकुटीमा राखेर पूजा गरिन्छ । महानवमीका दिन बालिकालाई कुमारी मानेर पूजा गर्ने लोककथा भक्तपुरका राजा जगत्ज्योति मल्लसँग जोडिएको छ । राजा जगत्ज्योतिसँग तलेजु भवानी स्त्रीको रूपमा सधैँ पासा खेल्न आउने गर्दथिन् । एक दिन राजाले तलेजु प्रति कुदृष्टी लगाएपछि तलेजु रिसाएर पासा खेल्न आउन छाडिदिइन् ।
यसबाट राजा साहै दुःखी भएको देखेर तलेजु भवानी सपनामा आई ममाथि भक्ति छ र मसँग कुरा गर्ने हो भने नवमीको दिन शाक्य वा बज्राचार्यकी छोरी ल्याई मेरो आह्वान गरी पूजा गर्नु भनी राजालाई आदेश दिइन् । सोहीअनुसार आज पनि भक्तपुरमा महानवमीका दिन शाक्य र बज्राचार्यको छोरीलाई कुमारी पुज्ने प्रचलन छ । यो पूजा गर्ने ठाउँ कुमारी चोक नामले प्रचलित छ ।
महानवमीको साँझ नवदुर्गा देवगणको सिद्धी प्राप्तिको लागि बलि दिन भक्तपुर नगरपालिका–३, गछेंस्थित नवदुर्गा देवीको द्यछें (देवघर)भित्र राखेर पालन पोषण गरिएको खम्ये दौडाएर ब्रम्हायणी शक्तिपिठ पु¥याउने प्रचलन छ । यो प्रचलनलाई भक्तपुरमा खम्ये जात्रा भनिन्छ । यो जात्रा महिषासुर राक्षसको बधसँग गाँसिएको र खम्येलाई सोही महिषासुरसँग तुलना गरिन्छ । राक्षसीस्वरुप खम्येको हार र देवी शक्तिको जीतको रूपमा खम्ये जात्रालाई लिने गरिन्छ । यो जात्रा नवदुर्गा देवीहरू मिलेर महिषासुरलाई बध गरेको खुसीयालीमा मनाउने एक मात्र पृथक जात्रा हो । नवमीकै दिन राति लालाछेंमा नवदुर्गाको मुकुण्डो प्रदर्शन गरी देवगण आएर मुकुण्डो ब्रम्हायणी शक्तिपिठमा लिएर जाने परम्परा छ ।
दशमीका दिन भवानीलाई विधिवत्रूपमा अन्तिम पूजा गरिन्छ । यस दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको बध गरेको विश्वासमा विजयोत्सव मनाइने भएकाले यस दिनलाई विजयादशमी भन्ने गरेको संस्कृतिविद्हरू बताउँछन् । यस दिन ब्रम्हायणीमा ठूलो मेला लाग्दछ । घटस्थापनाका दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टीका देवीको प्रसादको रूपमा शिरमा लगाइन्छ । तलेजुमा विधिवत रूपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुनः देवगृहमा विराजमान गराइन्छ ।
राति ब्रम्हायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ । देवीले दैत्यलाई बध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको बताइन्छ । खड्ग जात्रालाई पायो जात्राको रूपमा लिइन्छ । यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवत् रूपमा पूजा गर्दछन् । यो जात्रामा तलेजुको बाहनका रूपमा सेतो घोडा दौडाउनुका साथै फलामे पोसाक लगाएका मानिस जात्रामा सामेल हुन्छ । किम्बदन्तीअनुसार सत्ययुगमा दैत्यहरूले ब्रम्हाको तपस्या गरे । ब्रम्हाले खुसी भई दैत्यलाई बरदान माग्ने आज्ञा दिए ।
दैत्यहरूले कसैले मार्न नसक्ने बरदान माग्दा ब्रम्हाले स्वास्नीमान्छे बाहेक कसैले मार्न नसक्ने बरदान दिए । बरदान प्राप्त गरेपछि दैत्यहरू स्वर्गमा गई देवतालाई दुःख दिन थाले । यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पति गराएर दैत्यसँग युद्ध गराए । अन्तमा मुख्य दैत्य सबै मारिए । बाँकी भएका दैत्य कोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए । देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यलाई खोजी खोजी मार्न थाले । यसैको सम्झनामा खड्ग जात्रा सुरु भएको भन्ने लोककथन छ ।