Logo

एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छः मन्त्री महत



काठमाडौं, ३० असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री महतले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेको बताए ।

‘युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ, मन्त्री महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ ।’

हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसकेको मन्त्री महतको दाबी छ । अहिले निजी क्षेत्रबाट ३ सय मेगावट जलविद्युत उत्पादन भइरहेको उनले बताए । साथै, सयौं आयोजनामा हजारौं नेपालीको लगानी रहेको उनको भनाई छ । माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा र दुधकोशीमा एसियाली विकास बैंकले लगानी हुने प्रक्रियामा रहेको उनको भनाई छ । त्यसका लागि नेपालले सहुलियत दरमा ऋण मागेको मन्त्री महतले बताए । नेपालीहरुको आर्थिक समृद्धिको हिस्सा जलविद्युत बन्ने पनि उनले बताए ।

‘आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्नेछ । यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं, अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ’ उनले भने, ‘हामी बुढिगण्डकी जलासययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौं ।’

नेपालमा लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा रहेको उनको भनाई छ । बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुने गरेको बताउँदै मन्त्री महतले सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिने बताए ।

अहिले प्रायः नेपालीहरुमा जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता रहेको बताउँदै उनले यसलाई तोड्न केही समय लाग्ने बताए ।

नेपालमा पर्यटनको पनि प्रचुर सम्भावना रहेको उनले बताए । पर्यटनले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उनको भनाई छ ।

‘नेपालमा धेरै नकरात्मक भावना फैलिएको भन्दै उनले अब सकारात्मक भावना फैलाउन आवश्यक रहेको बताए । ‘नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्’ मन्त्री महतले भने, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौं । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौं । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाईंहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ ।’



प्रतिक्रिया दिनुहोस्