Logo

एनआरएनए अध्यक्षका उम्मेदवार आरके शर्माको दाबी: ‘म साझा उम्मेदवार हुँ, जित सुनिश्चित छ’



काठमाडौं, १ कातिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ महाधिवेशन जारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो (मंगलबार) महाधिवेशनको उद्घाटन गरेका हुन् । एनआरएनएको नयाँ नेतृत्व चयनका लागि भोलि (बिहीबार) मतदान हुँदैछ । एनआएनए हाँक्नका लागि चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

एनआरएनएको अध्यक्षका दाबेदारमध्ये राजेन्द्र कुमार शर्मा (आरके) पनि बलिया उम्मेदवार हुन् । उनले आफ्ना एजेण्डाहरु सार्वजनिक गरिसकेका छन् । नेपालीहरुले प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि पहल गर्ने उनको योजना रहेको छ ।

त्यसैगरी, आफू निर्वाचित हुँदै गर्दा नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण छ भन्ने मान्यता स्थापित गराउने आरके शर्माका एजेण्डा रहेका छन् । अध्यक्षका उम्मेदवार शर्मा सामाजिक क्रियाकलापमा सक्रिय र एनआरएनएको अभियानमा स्थापनाकालदेखि नै क्रियाशील छन् । एनआरएनए र नेपाली समुदायबीच समन्वयकारी भूमिका निर्वाहमा आफुलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

आफू एनआरएनएमा लागेपछि लिन होईन, दिन सक्नुपर्छ भन्ने मान्यता राखेर आर्थिक पारदर्शितालाई एनआरएनएको पहिलो प्राथमिकतामा राखेर कार्य गर्ने उनले बताए । एनआरएनएलाई समाज सेवाको उपयुक्त माध्यम बनाउने उनको प्रतिवद्धता रहेको छ । साथै, श्रमिकहरूका पक्षमा क्रियाकलाप संचालन गर्दै विश्वमा रहेका नेपालीले एनआरएनए मेरो भन्ने भावनाको विकास गराउन आफू निरन्तर लागिरहेने उनको भनाई छ । एनआरएनएभित्र एकता, सहमति र सहकार्यका लागि निरन्तर लागि रहने र नेतृत्वलाई सहयोग गरिरहने उनको प्रतिवद्धता रहेको छ ।

नेपालमा लगानी अभिवृद्धि, श्रमिकहरूको हक हित, सुरक्षित वैदेशिक रोजÞगारी लगाएतका विषयमा आफू विशेष रुपमा लागि पर्ने उनले बताए । एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरूलाई अप्ठ्यारो पर्दा नजिकको साथी र सहयोगी बनाउने आफ्नो लक्ष्य रहेको शर्मा बताउँछन् । साथै, प्रवासमा रहेका दोस्रो पुस्तासँग नेपाललाई जोड्न सक्ने योजना र क्षमता आफूसँग रहेको उनको दाबी छ ।

एनआरएनएको नेतृत्वलाई सफल बनाउन लागि आफूलाई जिताउन उनले सबै मतदाता समक्ष अपील गरे । साथै, उनले गैरआवसीय नेपालीहरुको नागरिकताको निरन्तरता, राजनीतिक अधिकार र मतदानको अधिकारको लागि पनि आफू निरन्तर लागिरहने बताए ।

‘हामीहरु बाध्यताले बाहिरिएका हौं । नेपालीहरु कोही पनि खुसीले विदेशिएको छैनन् । बाध्यताले खुनको आँखु बगाउँदै विदेशिदैगर्दा केही हदसम्म यति समयसम्म जन्मिएकाहरुको नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने मेरो एजेण्डामा पनि छ,’– अध्यक्षका उम्मेदवार शर्माले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजोबाट शुभाराम्भ गरेको गैरआवासीय नेपालीहरुको नागरिकता वितरण केही अधिकार नभएको भनेर गलत सन्देश प्रवाह भएको उनले बताए । उक्त नागरिकताका गैरआवासीय नेपालीहरुलाई राजनीति र मदतानको अधिकार नभएको र अन्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको उनले बताए ।

‘अहिलेको नागरिकता त्यस्तो केही अधिकार नभएको चाहिँ होईन । राजनीति गर्न र मतदान गर्न नपाउनेमात्रै हो । एक सय पूर्णाङ्कमा ८० पूर्णङ्क पाइसकेका छौं । त्यो ८० लाई छायाँमा नपार्दिनुस् । त्यो २० प्रतिशत पनि ल्याउने कुरामा मैले मेरो अध्यक्षतामा नै राखेको छु ।’ उनले भने, ‘आगमी दिनहरुमा गोर्खाजक ईस्यू, गोर्खाज्हरु विभिन्न समयमा युद्ध लड्नु भयो । उहाँहरुको समान हकका र्ईस्यूहरु छन् । दोस्रो पुस्ताका नेपाली, विद्यार्थी भाई बहिनीहरुका मुद्दा, नागरिकता निरन्तरताको ईस्यू मेरो अग्रपंक्तिको एजेण्डाहरु हुन् ।’

गैरआवसीय नेपालीहरुलाई नागरिकता दिनुपर्ने माग २० वर्षपछि र सामाजिक सुरक्षा कोषको मुद्दा १२ वर्षपछि सम्बोधन भएको उनले बताए । विश्वको अभ्यासमा हेर्दा पनि नीति नियमहरु परिवर्तन गर्ने कुरालाई सानो काम मान्न नहुने उनको भनाई छ । एनआरएनहरुले मताधिकार र राजनीति गर्न पाउने हक स्थापित गराउन नथाकेर निरन्तर लागिरहने उनले प्रतिवद्धता व्यक्त गरे ।
नेपालीहरु कमाउने, खर्च गर्ने र रमाउनेमा बानी परेको उनको भनाई छ । गैरआवासीय नेपालीहरुले डलर कमाएर पठाए पनि यता आफ्नो खेतबारी बाँझै राखेर चामल र तरकारीसमेत आयात गर्न पर्दा देशको अर्थतन्त्रमा असर देखिएको उनले बताए । अब कमाउने र लगानी गर्ने परिपाटीमा जान आवश्यक रहेको उनले बताए ।

दिनदिनै समस्याले नयाँ रुप ल्याइरहेको बताउँदा विभिन्न देशमा रहेका नेपाली दाजुभाईको समस्या समाधान गर्दै अगाडि बढ्ने उनले बताए । खाडी मुलुक लगायत अमेरिकामा पनि नेपालीहरु समस्यामा रहेको उनले बताए । नेपालको समृद्धि र विकासका लागि नेपालीहरुले विदेशमा सिकेको ज्ञान सीप, प्रविधि र पुँजीलाई सही सदुपयोग गर्न सक्नुपर्ने उनको भनाई छ ।

‘अहिले नेपालको समृद्धि र विकासका लागि हामीले सिकेको ज्ञान, सीप, टेक्नोलोजी र पुँजीको सही सदुपयोग गर्ने आवश्यक छ । सही सदुपयोग भएको छैन,’– अध्यक्षका उम्मेदवार शर्माले भने ।

कुनै पनि राजनीतिक दलको ट्याग नलाईदिन आग्रह
आफू कुनै पनि दलको सकृय कार्यकर्ता नरहेको उनले बताए । विगत १७ वर्षदेखि एनआरएनएको एजेण्डाहरु संस्थागत गराउनका कमल थापादेखि प्रधानमन्त्री प्रचण्डसम्म सहकार्य गरेको उनले बताए । आफूलाई सबै राजनीतिक दलको समर्थन रहेको उनले बताए । आम श्रमिक दाजुभाई दिदी बहिनीको समस्यालाई एजेण्डा बनाएकाले सबै राजनीतिक दलले मन पराएको उनले बताए । आफ्नो एजेण्डामाथि नेपालमा रहेका सबै राजनीतिक दलको समर्थन रहेको उनको दाबी छ ।

कुनै पनि राजनीतिक दलका अध्यक्षले मजदुरका मुद्दा उठाउने एनआरएनएका अध्यक्षको उम्मेदवारको पक्षमा उभिन हुँदैन भनेर नभनेको भन्दै उनले आफू सबै राजनीनिक दलको साझा उम्मेदवार भएको दाबी गरे । प्रधानमन्त्री प्रचण्ड सरकार प्रमुख पनि भएकाले उनले पनि आफ्ना एजेण्डा मन पराउँदा विजयी भएर आएपछि फास्ट ट्रयाकबाट काम गर्न सजिलो हुने उनले बताए ।

‘राष्ट्र निर्माण, आर्थिक समृद्धि र आम गरिबहरुको मुद्दा उठाउँदै गर्दा उहाँ (प्रचण्ड) ले मरो एजेण्डा मन पराइदिनु भयो भने त्यसमा के नराम्रो भयो र ? भोलि मैले जितेपछि जो सरकार प्रमुख हुनुहुन्छ उहाँसँग काम गर्ने होईन र ? मेरा एजेण्डामाथि सरकार प्रमुखले विश्वास गर्नुभयो भने मैले अझ पास्ट ट्रयाकमा काम गर्न सक्छु ।’ अध्यक्षका उम्मेदवार शर्माले भने, ‘मेरो एजेण्डा उहाँले मान्नु भएको हो । सबै पूर्व प्रधानमन्त्रीहरुसँग पनि राख्दा ती एजेण्डाहरु मानिएका एजेण्डा हुन् ।’
समृद्ध नेपाल बनाउने एजेण्डासहित आफूले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दर्ता गराएको उनले बताए ।

गुट निर्माण गरेको होईन
एनआरएनको निर्वाचनमा आफूले कुनै गुट निर्माण नगरेको उनको दाबी छ । आफ्नो एजेण्डा मन परेर साथीहरुले समर्थन गरेको उनले बताए ।

‘अभियानमा जाँदै गर्दा मेरा एजेण्डा मन परेर मलाई समर्थन गर्ने साथीहरुलाई सँगै लिएर जाँदा भोली काम गर्न सजिलो हुन्छ । मैले गुट बनाएको होईन । मेरो एजेण्डालाई हृदयदेखिनै मन पराएर सहयोगी साथीहरुले यो एजेण्डालाई सम्पन्न गर्नपर्छ भनेर लाग्नु भएको साथी हो,’– उनले भने ।

आफू निर्वाचित भएर संस्थाको नेतृत्व गर्दैगर्दा अहिले एनआरएनएभित्र रहेका सबैखाले समस्या समाधानका लागि कोही कसैलाई विभेद नगरी काम गर्ने उनले बताए । आफू कुनै पनि गुट, उपगुटको नभएर साझा उम्मेदवार भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्