Logo

पूर्वमुख्यमन्त्री कार्कीले भनेः ‘नवदुर्गा भवानीलाई साक्षी राखेर दिमागबाट कलुशित भावना फालौं’



काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कलुशित भावना र मनस्थिति त्यागेर एकवद्ध हुन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् । आज (बुधबार) मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले सबै दल एकवद्ध भएर नेपाल सरकार र अन्य प्रदेशलाई पनि एकताको सन्देश दिन आवश्यक रहेको बताएका हुन् ।

‘दसैंको मुखमा नवदुर्गा भवानीलाई साक्षी राखेर म आग्रह गर्न चाहन्छु, हाम्रा दिमागबाट कलुशित भावनाहरु, कलुशित मनस्थितिहरु सबै फालौं । हामी एकतावद्ध हौं । कोशी प्रदेशबाट नेपालले सिकोस् ।’ उनले भने, ‘अरु प्रदेशले सिकोस्, म यो अपेक्षा गर्न चाहन्छु ।’

आफूले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेकोमा पनि खुसी रहेको उनले बताए । एमालेले संविधान र संविधानले अगाडि सारेको मूलभूत मान्यतालाई रक्षा गर्न सफल भएको उनले बताए । एमाले संविधानले देखाएको बाटोमा हिँड्नका लागि सदैव तयार रहेको उनले बताए । दलहरुबीच दूराभाव र वैरभाव बढ्न नहुने उनले बताए ।

‘मैले फेरि असोज २० गते विहानसम्म विश्वासको मत माग्ने धेरै प्रयास गरेँ । मलाई दिनुभएन, त्यसमा पनि म खुसी छु । म के मानेमा खुसी छु भने नेपाली जनताले बनाएको संविधानको रक्षा गर्ने र यो संविधानले अगाडि सारेका मूलभूत मान्यताहरु, संविधानले देखाएको बाटामा हिड्नका लागि (नेकपा) एमाले तयार छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्