Logo

एनआरएनए अध्यक्षमा डा. केसी विजयी, सिस्टम ह्याक भएको शर्मा र श्रेष्ठ पक्षको आरोप



काठमाण्डौं, कार्तिक ३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसी विजयी भएका छन् ।

केसीले १ हजार ३७८ ल्याएर विजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार आरके (राजेन्द्र कुमार) शर्माले १ हजार २८१ र महेश श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको घोषणा गरिएको छ ।

यस्तै, उपाध्यक्षमा हेमराज शर्मा, रोबिन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ तथा उपमहासचिवमा सोम सापकोट र प्रविण गुरुङ निर्वाचित भएका छन् । विदेशमा रहेका प्रतिनिधिलाई अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।

एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठ पक्षले अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्