Logo

गगन थापा यही गठबन्धनबाटै प्रधानमन्त्री बन्नुहुन्छः कांग्रेस नेता तिवारी



काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीका महामन्त्री गगनकुमार थापा २०८४ सालभित्रै प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन् ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यही गठबन्धनबाटै महामन्त्री थापा प्रधानमन्त्री बन्ने बताएका हुन् ।

‘२०७९ को निर्वाचन परिणाम आएलगत्तै यही म्याण्डेटभित्रै गगन थापा प्रधानमन्त्री बन्न सक्नुहुन्छ भनेको थिएँ । २०८४ भित्रै गगन थापा प्रधानमन्त्री बन्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । यही गठबन्धन कायम रहेरनै बन्नुहुन्छ,’– उनले भने ।

एमालेको समर्थनमा महामन्त्री थापा प्रधानमन्त्री नबन्ने उनले बताए । महामन्त्री थापा सिद्धान्त, आदर्श र दर्शनको नेता भएको उनको दाबी छ । एमाले अध्यक्ष ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेको र अहिलेसम्म माफी नमागेकाले एमालेसँग गठबन्धन गरेर महामन्त्री थापा प्रधानमन्त्री नबन्ने उनको भनाई छ ।

‘तपाईँ निश्चिन्त रहनुस्, केपी ओलीको समर्थनमा गगन थापा प्रधानमन्त्री बन्नुहुन्न । गगन थापा सिद्धान्त, आदर्श र दर्शनको पनि नेता हो । केपी ओलीले जुन किसिमले दुई पटक संसद् भङ्ग गर्नुभयो । उहाँले त्यस बारेमा माफी माग्नु भएको छैन,’– उनले भने ।

एमाले अध्यक्ष ओलीले अहिले कोशीमा धामिलो पानीमा माछा मार्ने प्रयास गरेको उनको टिप्पणी छ । एमाले अध्यक्ष ओली यो व्यवस्थालाई अस्थिरतामा लैजानका लागि एक नम्बरको खेलाडी भएको उनले बताए ।

‘अहिले कोशीमा पनि धमिलो पानीमा माछा मार्दै हुनुहुन्छ । व्यवस्थालाई अस्थिरतातिर लैजान उहाँ एक नम्बरको खेलाडी हुनुहुन्छ । यस्तो खराब खेलाडीसँग उहाँले गठबन्धन गरेर प्रधानमन्त्री बन्नुहुन्न,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्