काठमाडौं, ४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेता चानक पोखरेलले सरकार नपुगेको तर नेपाली पुगेका ठाउँमा अभिभावकत्व प्रदान गर्न उपेन्द्र महतोले यो संस्थाको परिकल्पना गरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विदेशमा रहेका नेपालीहरुलाई अब शिक्षित, पोलिटिकल र समाज बुझेका व्यक्तिहरुले लिड गर्नपर्छ भनेर संस्थाको सुरुवात भएको बताए ।
‘जब सन् २००३ मा गैरआवासीय नेपाली संघ उपेन्द्र महतोले परिकल्पना गरेर प्रवासमा जुन ठाउँमा सरकार पुगेको छैन, जुन ठाउँमा राजदूतावास छैन, जहाँ नेपाली छ ।’ उनले भने, ‘त्यसले गर्दा यो गैरआवासीय नेपाली संघले संरक्षणका लागि शिक्षित, पोलिटिकल र समाज बुझेका व्यक्तिहरुले अब लिड गर्नपर्छ भनेर परिकल्पनाको साथ खोलिएको थियो । तर, तीन कार्यकाल सर्वसम्मत यो संस्थालाई व्यवस्थित गर्नका लागि उपेन्द्रजीले लिड गर्नुभयो ।’
एनआरएनए बाहिर बस्ने नेपालीहरुको कर्मभूमि संस्था भएको उनको भनाई छ । उपेन्द्र महतोले जन्माएको गैरआवासीय नेपालीहरुको साझा संस्थालाई बीचमा भाँचेर ओदाने बनाएको भन्दै उनले दुःख व्यक्त गरे । अष्ट्रेलियाको सरकारले मान्यता दिएको भेरो बाट गरिएको निर्वाचनमा शंका गर्न आवश्य नरहेको उनले बताए । मत गणनामा देखिएको त्रुटी प्रविधिक विषय भएको बताउँदै उनले केही समयभित्रै यो समाधान हुने विश्वास व्यक्त गरे ।
‘अहिले गैरआवासीय नेपाली संघ यो सालमात्रै होईन, पोहोर सालदेखिनै विवादित भएको छ । तीन जना अध्यक्षहरुको सहमतिमा सरकारले, गठबन्धनले दुरुपयोग गरेर यो संस्थामा हात हालेर विभिन्न लालसेना लगाएर तीन जना आफ्ना मान्छेहरुलाई राखेर संस्था जोगाउने काम गर्यो,’– उनले भने ।
गैरआवासीय नेपाली संघलाई व्यवस्थित गर्नका लागि अहोरात्र खटेर ५९ देशमा अनलाईनबाट भोटमार्फत राष्ट्रिय कमिटी निर्माण गर्न लागिपरेको उनले बताए । मुचुल्का समेत नउठाई डाइरेक्ली भेरोबाट लाईभ गर्न लगाउँदा अहिले समस्या आएको उनको भनाई छ । निर्वाचन कमिटीले इमेल मगाएर भेरिफाईपछि निर्वाचन परिमाण सार्वजनि गरिनुपर्नेमा लाइभ नतिजा ल्याउँदा अहिलेको समस्या आएको उनले बताए ।