काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अहिले राजावादीहरुले केपी शर्मा ओलीको कम्बोडियामा रहेको टेलिकममा लगानी छ भनेर भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् ।
पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ओलीको कम्बोडियाको टेलिकममा ३० अर्ब जति लगानी रहेको सनसनीपूर्ण आरोप लगाएका थिए । प्रसाईको उक्त भिडिओ भाइरल भैरहेको छ । यसै सन्दर्भमा एमाले महासचिव पोख्रेलले त्यसलाई भ्रमको खेतीको संज्ञा दिएका छन् ।
महासचिव पोख्रेलले केपी ओली नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्त देखिएको पनि दाबी गरेका छन् । ओलीजस्तो सुशासन र विकासमा योग्य व्यक्तित्वमाथिको प्रहार देश र जनताको भविष्यमाथिको प्रहार भएको पनि टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्-
पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं।