Logo

टी-२० त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र यूएई भिड्दै



काठमाडौं,१० कार्तिक । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लापिग आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा उपाधि भिडन्त हुन लागेको हो ।

यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । सिरिजमा नेपाल,यूएई र हङकङ सहभागी रहेको छन् । डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।

नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

यही कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर छनोटका लागि राम्रो तयारी गर्ने योजनामा नेपाल छ ।



प्रतिक्रिया दिनुहोस्