Logo

एमालेको गाडी धेरै अगाडि गुडिसक्यो, वामदेवलाई कुरेर बसेको छैनः सूर्य थापा



काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले पुरानो एमालेमा भएको हैसियत खोजेर नपाउने टिप्पणी गरेका छन् । हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले वामदेवलाई कुरैर नबसेको बताए । एमालेको ट्रेन निक्कै अगाडि बढिसकेको उनको टिप्पणी छ ।

‘एमालेमा ७० वर्षको उमेर हद हटाएपछि आउँछु भन्नुहुन्थ्यो । हामीले पनि कोशिस गर्यौं । आउने वातावरण थियो । पुरानो एमालेमा उहाँको जे चल्थ्यो, त्यो खोजेर उहाँले अहिले पाउनुहुन्न । एमालेको गाडी धेरै अगाडि गुडिसक्यो । उहाँले कहाँबाट वरिष्ठ उपाध्यक्ष पाउने ? गाडी त गुडिसक्यो । एमालेको ट्रेन अगाडि बढिसक्यो । वामदेवलाई पर्खेर बसेको छ र एमाले ?’– उनले भने ।

आजको एमाले बनाउन हिजो वामदेवको योगदान भएको स्मरण गराउँदै उनले आजको एमालेमा भाँडभैलो सिर्जना गर्न पनि उनको योगदान सबैभन्दा बढि रहेको टिप्पणी गरे ।

एकता अभियान नामको साईनबोर्डको कुनै अर्थ नरहेको उनले बताए । वामदेवले दुई चोटी पार्टी विभाजन गरेको सन्दर्भमा दुई पटक दश औंला उठाएर माफी माग्नुपर्ने उनको भनाई छ । पार्टी बचाउने केपी ओली र पार्टीलाई पटक–पटक विघटन गर्ने वामदेवको एकैठाउँमा तुलना हुन नसक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्