काठमाडौं, कार्तिक १२ । जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले रवि लामिछानेको फेसबुक र टिकटिक राजनीति लामो समयसम्म चल्न नसक्ने दाबी गरेका छन् ।
‘रास्वपाले फेसबुकिया र टिकटकिया राजनीति गरेर पहाडको सहरिया जनमतलाई गुमराहमा पारेको हो । मधेसका जनताले त धूलो चटाइदिएकै हुन् । सधैंभरि गफ गरेर राजनीति चल्दैन । जनतालाई डेलिभरी दिन नसक्ने रविको फेसबुकिया(टिकटकिया पसल चाँडै बन्द हुन्छ,’ नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
नेता यादवले पुष्पकमल दाहाल प्रचण्डको सरकारले जनतालाई सुशासनको अनुभूति दिइरहेको दाबी गरे । उनले थपे, ‘सत्तारुढ दलकै नेता, पूर्वमन्त्री, बहालवाला सांसद जेल गएका छन् । लोकतन्त्रभन्दा राम्रो व्यवस्था कुनै पनि छैन । राजतन्त्र फर्काउने कुरा भजनमण्डलीको मात्र हो, त्यो दिवास्वप्न हो ।’ साथै उनले राष्ट्रिय सहमतिको सरकार बनाउने बेला नभएको बताए ।
नेता यादवले बीआरआईको ऋण लिनुपर्छ भन्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहा गराउन चुनौती दिए । ‘विमानस्थल बनाउनुपर्ने थियो निजगढमा, बनाइयो पोखरामा । पोखरामा चीनको ऋणले घाँटी अँठ्याइसक्यो । झलनाथजीको चीनसँग राम्रो सम्बन्ध छ भने पोखराको ऋण माफी मिनाहा गराएर देखाउनुस् न । हामी बरु नुनरोटी खान्छौं, बीआरआईको ऋण लिँदैनौं ।’
साथै, उनले बीआरआईको ऋण लिनुपर्छ भन्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने समेत औल्याए । उनले भने, ‘नारायणकाजीले त्यस्तो भनेको भए फिर्ता लिनुपर्छ । बीआरआईको ऋण लिएर मुलुकलाई भार थपे जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थिति बन्छ ।’
संयुक्त राष्ट्रसंघका महासचिवलाई चुच्चे नक्सा उपहार दिनुपर्छ भन्ने बुद्धिजीवीप्रति पनि यादवले कटाक्ष गरे । उनले थपे, ‘नेपाल–भारतको सीमा समस्या कूटनीतिक तवरबाट समाधान हुन्छ, बुद्धिजीवीका गफ र फेसबुकमा लेखेर हुँदैन । यसमा संयुक्त राष्ट्रसंघलाई मुछ्नुपर्ने आवश्यकता छैन ।