बारा, कार्तिक १२ । बारामा बस दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनको जलबिरे झरनाबाट पिकनिक सकाएर वीरगन्जतर्फ आउँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस आफै अनियन्त्रित भई सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा चोकमा पोलमा ठोकिन पुग्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार क्षेत्रीले जानकारी दिए।
दुर्घटनामा पहिचान नखुलेका करिब ३० वर्षीय एक युवकको बसमा च्यापिएर मृत्यु भएको प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताए । मृतक खाना पकाउने व्यक्ति रहेको प्रहरीको भनाई छ ।
बिरगंजबाट पिकनिक मनाउन जलबिरे गएको सो बस फर्किने क्रममा शनिवार राती ९ बजेर ३५ मिनेट जाँदा दुर्घटनामा परेको प्रहरीको भनाई छ।
दुर्घटनामा बसमा सवार ५१ जना मध्ये ४ जना गम्भीर घाइते रहेका छन् भने ४७ जना सामान्य घाइते भएको प्रहरी उपरिक्षक सुरेश प्रसाद काफलेले जानकारी दिए ।
गम्भीर घाइतेहरूलाई बिरगंज स्थित बेयोधा अस्पताल र बारा नौतन स्थित एलएस न्युरो अस्पतालमा र बाँकीको सामान्य अवस्थामा सिमराको अल्पाइन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरिक्षक काफलेले जानकारी दिए ।
दुर्घटनापछि चालक फरार भएको हुँदा निजको खोजी कार्य तीव्र पारी घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।