Logo

एमाले सचेतक बर्तौलाको आरोप, ‘गृहमन्त्री सुन तस्करीमा र गृह प्रशासन खसी तस्करीमा लाग्यो’



काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नागरिकहरुमा अहिलेको सरकारप्रति वितृष्णा बढेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन नयाँ बानेश्वर पुगेका बर्तौलाले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अहिलेको व्यवस्थाप्रति नागरिकमा वितृष्णा बढेको नभएर सरकारप्रति वितृष्णा बढेको बताएका हुन् ।

‘सरकारप्रतिको नागरिकको वितृष्णा हो यो । व्यवस्थाप्रतिको वितृष्णा होईन । यो दुनियाँमा सबैभन्दा उत्तम व्यवस्था हो । नागरिकले आफ्नो प्रतिनिधि छान्ने र त्यसबाट शासन व्यवस्थालाई अगाडि बढाउने यो उत्तम व्यवस्था हो,’– उनले भने ।

सरकार कूशासन र भ्रष्टाचारमा लिप्त भएको उनको अरोप छ । सरकारले जनतालाई डेलिभरी दिन नसकेको बर्तौलाले बताए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तराष्ट्रिय एयरपोर्टबाट सुन तस्करी गरेको र उनी मातहतको गृह प्रशासनले बोर्डरमार्फत खसी तस्करी गरेको उनको अरोप छ ।

‘जनतालाई डेलिभरी दिने कुरामा सरकार चुक्यो । सरकार कूशासन र भ्रष्टाचारमा लाग्यो । गृहमन्त्री अन्तराष्ट्रिय एयरपोर्टबाट सुन तस्करीमा लाग्ने उनी मातहतको गृह प्रशासन बोर्डरबाट खसी तस्करीमा लाग्ने, सबै मान्छेहरु तस्करीमा मात्रै छन्,’– उनले भने ।

व्यवस्थाविरुद्ध पनि षड्यन्त्र भइरहेको र थप षड्यन्त्र हुनसक्ने भन्दै यो व्यवस्था ल्याउनका निम्ति लडेका राजनीतिक शक्तिहरु आफूलाई जिम्मेवारी बोधका साथ प्रस्तुत गर्न आवश्यक रहेको उनले बताए । विशेष गरी सरकारमा रहेका दलहरु व्यवस्था विरुद्धमा हुने षड्यन्त्रप्रति चनाखो हुन आवश्यक रहेको उनको भनाई छ ।

‘व्यवस्था विरुद्धमा धेरै षड्यन्त्रहरु हुनसक्छन्, त्यो भइरहेका छन् । मुख्य कुरा यो राजनीतिक व्यवस्थाका लागि लडेका शक्तिहरुले आफूलाई जिम्मेवारी बोधका साथ प्रस्तुत गर्नपर्यो, सरकारमा रहेका दलहरुले विशेष गरी भूमिका निर्वाह गर्नपर्यो,’– उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्ध भन्दापनि शासकहरुको कार्यशैलीका विरुद्धमा नागरिकहरुको अभिमत प्रकट भइरहेको उनको दाबी छ । पछिल्लो चरणमा सरकारका कारण राष्ट्रपतिलाई विवादित बनाउने काम हुँदा त्यसले अलिअलि नागरिकहरुमा निराशा पैदा भएको उनको भनाई छ ।

‘तपाईहरुको पार्टी अध्यक्षको लगानी कम्बोडियामा छ भन्ने खबरले समाज सशंकित छ नि ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले उक्त कुरा मिथ्या भएको दाबी गरे । मिथ्या कुराको उत्तर दिएर हिड्नुको कुनै औचित्यनै नरहेको उनले बताए । अहिले एमालेमाथि सरकारबाट र सरकार बाहिरबाट पनि चौतर्फी घेराबन्दी गर्ने काम भएको उनको दाबी छ । एमालेप्रति जनताको जनविश्वास बढिरहेको अवस्थामा प्रयोजित ढंगले एमाले र एमालेको नेतृत्वमाथि घेराबन्दी गर्न खोजिएको उनको भनाई छ ।

‘आज एमालेप्रति, एमालेको नेतृत्वप्रति जनविश्वास बढेको छ, देशमा निकास दिनसक्ने सामाथ्य एमालेले मात्रै राख्नसक्छ, त्यो केपी ओलीले मात्रै राख्न सक्छन् भन्ने विश्वास बढिरहेको बेलामा चौतर्फी घेराबन्दी गर्ने, सरकारबाट सरकार बाहिरबाट वा विभिन्न ढंगबाट ।’ उनले भने, ‘त्यो प्रयोजित ढंगबाट भएको छ, त्यसकारणले गर्दा यस्ता असान्दर्भिक, अव्यवहारिक विषयहरुको धेरै बताईरहन पर्छ भन्ने लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्