Logo

महासचिव गुटेरेसले नेपालबाट गरे इजरायल र प्यालेस्टाइनको युद्ध रोक्न अपील



काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक्न अपील गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सबै प्रकारका युद्धको बिराम गरी अपहरणमा परेकालाई सुरक्षित फिर्ता गर्न र जोखिममा रहेका गाजाका नागरिकलाई तत्काल उद्धार उपलब्ध गराउन सरोकारवाला सबै पक्षसँग आह्वान गरेका हुन् ।

गुटेरेसले इजरायल र प्यालेस्टाइनबीचको जारी युद्धका सन्दर्भमा कहिल्यै पनि नागरिकको हत्या, अपहरण र यातना दिने काम कुनै पनि हालतमा न्यायिक हुन नसक्ने स्पष्ट गर्दै गाजाको स्थिति झन खराब हुँदै गइरहेकामा दुःख व्यक्त गरे ।

“मलाई दुःख लागेको छ तत्काल मानवीय उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै गर्दा इजरायलले आफ्नो सैनिक कारबाही बढाएको छ”, महासचिव गुटेरेसले भने, “कुनै पनि पक्षले युद्धसम्बन्धी अन्तराष्ट्रिय कानुन र मान्यताको पालना, मानवीयता र आफ्ना दायित्वको सम्मान र पालना गर्नुपर्छ । युद्धका समयमा नागरिकको सुरक्षालाई कसरी ध्यान दिने भन्ने मानवीय कानुन र अभ्यासको पालना अपरिहार्य हुन्छ ।”

गाजा क्षेत्रमा विश्वका झण्डै २० लाख मानिस आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारबाट वञ्चित भइरहेको उनले बताए ।उनले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीका परिवारप्रति शोक व्यक्त गर्दै अहिलेसम्म बेपत्ता रहेका विपीन जोशीको सुरक्षित उद्धारको अपेक्षा गरे ।



प्रतिक्रिया दिनुहोस्