Logo

शानदार जितपछि भुर्तेलले भने: बाँकी खेलमा पनि आजको जस्तै प्रदर्शन गर्ने प्रयास गर्छौ



काठमाडौं,१३ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भूर्तेलले टी-२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको बाँकी खेलमा पनि आजको जस्तै प्रदर्शन गर्ने विश्वास व्यत्त गरेका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेटको रवाफिलो जित दर्ता गरेसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै भूर्तेलले आफूहरु जहिल्यै पनि फाइनल खेलेजस्तै प्रदर्शन गर्ने बताए । उनले यसअघिका केही खेलमा रन बनाउन नसकेको अवस्थाबाट उन्मुक्ति पाउँदै आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्नसकेकोमा खुसीसमेत व्यक्त गरे ।

‘यसअघिको त्रिकोणात्मक शृंखलामा मुलपानीमा रन लागिरहेको थिएन, फाइनलमा मात्रै अलिकति रन लाग्यो,’ उनले भने, ‘अहिले अब रन लागिरहेको छ, खुसी छु ।’

कुशलले पहिलो विकेटका लागि आशिफ शेखसँग ८४ रनको साझेदारी गरेका थिए । यो नेपाली ओपनर जोडीले २ वर्षपछि गरेको उच्च साझेदारी हो ।जसमा आसिफले २७ रन जोडेका थिए । भने भूर्तेलले सोमबार भएको सिंगापुर विरुद्धको खेलमा ७४ रन हिर्काएका थिए । मात्रै ४८ बलमा ८ चौका र २ छक्कासहित ७४ रन हिर्काएका उनी १६ दशमलव २ ओभरमा छक्का हान्न खोज्दा क्याच आउट भएका थिए ।

नेपालले आफ्नो दोस्रो खेलमा भोलि मलेसियासँग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्