Logo

रिगलको आममाफीविरुद्ध र भारतीको न्यायका लागि अन्तराष्ट्रिय अदालतसम्म पुग्ने युवराज सफलको उद्घोष



काठमाडौं, १३ कात्तिक । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले भारती मानन्धरले दायर गरेको रिट नजीरको रूपमा स्थापित हुने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त फैसलाबाट ज्यानसम्बन्धी अभियोग पुष्टि भएरपनि आममाफी पाएका रिगल फेरीपनि जेल जाने बताएका हुन् ।

‘भारती मानन्धरले हालेको जुन रिट छ, त्योअन्तर्गत रिगल ढकाल भन्ने एकजना व्यक्ति जेल परेपछि नजीर बन्नेछ । अब आममाफी पाएका अपराधी फेरीपनि जेलमा हुनका निम्ति नजिर बन्नेछ । सर्वोच्च अदालतले उहाँलाई न्याय दिनुपर्छ,’– उनले भने ।

भारतीजस्ता पीडितलाई सर्वोच्च अदालतले न्याय दिन नसक्ने हो भने अदालत खारेज गरे हुने उनको टिप्पणी छ । आफूहरु अन्तर्राष्ट्रिय अदालतमा पुगेर भएपनि भारतीलाई न्याय दिलाएर छोड्ने उनले बताए ।

‘सर्वोच्च अदालतले न्याय दिँदैन भने त्यहाँका न्यायाधीशरु र न्याय प्रणालीलाई खारेज गर्दिए हुन्छ । युवराज सफल त्यसका लागि लड्न तयार छ । अन्तराष्ट्रिय अदालतमा लगेर भएपनि हामी उहाँलाई न्याय दिलाउँछौं,’– उनले भने ।

भारतीले दायर गरेको रिट नजीरको रुपमा स्थापित भएपछि आममाफी पाएर खुलेआम हिँडिरहेको धेरै बलात्कारी, भ्रष्टाचारी र ज्यानमाराहरु पुनः जेल जाने उनले बताए । आममाफीविरुद्ध भारतीले सुरु गरेको अभियान र रिट कोशेढुंगा सावित हुने उनको दाबी छ ।

ज्यानसम्बन्धी कसुर, भ्रष्टाचार र बलात्कार मुद्दामा प्रचण्ड, ओली, देउवा जिन्दावाद भनेको भरका चोर बाटोबाट आममाफी दिन नहुने उनको भनाई छ ।

साथै, उनले आममाफीको निर्णयमा हस्ताक्षर गरेको भन्दै राष्ट्रपति पौडेलको पनि कडा शब्दमा आलोचना गरे । उनले विगतमा कटुवाल काण्ड र नागरिकता विधेयकमा तत्कालीन राष्ट्रपतिहरुले निर्णय पुनर्विचारका लागि फर्काएको स्मरण गराउँदै रिगलको आममाफीको निर्णय अर्को अपराध भएको दाबी गरे । खुँडाले हानेर मान्छे हत्या गर्नेलाई आममाफी दिने राष्ट्रपति देशले नचाएको पनि उनले बताए ।

‘रामचन्द्र वनवास जाने मान्छे, शीतल निवासमा उहाँलाई यही दिन देख्नका लागि हामीले राष्ट्रपति बनाएको हो रु’ प्रश्न गर्दै उनले भने, ‘सरकारले सिफारिस गर्छ, तर राष्ट्रपतिले फिर्ता गर्नपर्ने कुराहरु कटुवाल काण्डमा पनि फिर्ता भएको थियो । नागरिकता विधेयकमा पनि फिर्ता भएको थियो । हेर्दै नहेरी खुँडा हानेर हत्या गर्नेलाई छोड्ने राष्ट्रपति यो देशले चाहेको छैन ।’

रामचन्द्र पौडेल नेपाली कांग्रेसको मात्रै राष्ट्रपति हो भने राजनीनामा दिन उनले आग्रह गरे । उनले रामचन्द्र पौडेलले २४ घण्टाभित्र भारती मानन्धर अनशन बसेको ठाउँमा आएर माफी माग्नसमेत आग्रह गरे । आममाफीमा पीडित पक्षलाई सोध्न र पीडितको सहमतिमा मात्रै आममाफी दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । यो संविधानले नेपाली जनताले सुविधा नभएर पार्टीका झोले, दलाल र माफियाहरुले सुविधा पाएको उनको भनाई छ ।

बृहत नागरिक अभियानका अभियन्ता शिशिर उप्रेतीले भारती मानन्धरको मुद्दाले गम्भीर प्रश्न उठाएको बताए । यो मुद्दामा आफूहरु भारती मानन्धरको पक्षमा रहेको उनले बताए । व्यक्ति हत्यारालाई आममाफी दिएर राज्यले मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको उनले बताए ।

रिगलको आममाफी प्रतिनिधि घटना भएको बताउँदै उनले अहिले अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्न काम भइरहेको बताए । प्राध्यापक कुट्नेको मुद्दा फिर्ता लिने र ज्यान मार्नेलाई आममाफी दिने कामबाट लोकतन्त्रको उपहास भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्