Logo

एमाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा छैनः उपमहासचिव ज्ञवाली



काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा नरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले राष्ट्रिय सहमतिको सरकारभन्दा पनि बलियो सरकार चाहेको बताएका हुन् । लोकतन्त्रमा नियन्त्रण र सन्तुलनका लागि बलियो प्रतिपक्षको आवश्यकता पर्ने बताउँदै उनले बरु एमाले प्रतिपक्षमै बस्ने तर मिलिजुली सरकारको पक्षमा नजाने उनले बताए ।

‘राष्ट्रिय सहमतिको सरकारसँग त म त्यत्तिधेरै सहमत छैंन । म बलियो सरकारको पक्षमा छु । किनभने लोतन्त्र बलियो हुनका लागि स्ट्रोङ अपोजिसन पनि चाहिन्छ,’– उनले भने ।

सबैलाई भागबन्डा पुर्याएर सरकारमा ल्याउने र प्रतिपक्षमा खबरदारी गर्दिने कोही नभएको खण्डमा लोकतन्त्रमा सन्तुलन र नियन्त्रण खलबलिने उनको दाबी छ । साथै अहिले देशमा विशेष गरी पाँच वटा संकट रहेको उनले बताए । ती संकटप्रति सरकार बेखबर रहेको उनको टिप्पणी छ । देशको राष्ट्रियतमाथि जोखिम बढ्दो अवस्थामा रहेको र मुलुक आर्थिक संकटतर्फ गइरहेको उनको भनाई छ । सरकारले गत साउनदेखि आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको उनले बताए ।

साथै, सामाजिक सद्भाव खलबल्याउने र संस्थाहरुप्रति हस्तक्षेप गर्ने लगायतका कामले आम जनताहरुका निराशा र आक्रोश बढिरहेको उनले बताए । सरकारकै कारण सर्लाही, धरान र नेपालगञ्जमा सामाजिक सद्भाव खलबलिएको उनको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले कोशी प्रदेशमा गएर आफूहरुलाई बहुमतले जिताएर पठाएको जातीय राज्य दिने भनेर भ्रम फैलाई जनता आक्रोशित बनाएको उनको दाबी छ ।

‘हाम्रो राष्ट्रियतामा जोखिमहरु बढ्दैछ । मुलुक आर्थिक संकटमा छ । साउन महिनाबाट सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको छ । यो स्थिति छ, विजोग छ, अहिले सटरहरु बन्द छन् ।’ उनले भने, ‘सामाजिक सद्भाव फैलाउने योजनावद्ध प्रयास भइरहेको छ । धरान, सर्लाही र अस्ति नेपालगञ्जकै कुरा गर्नुस् । चौथो संस्थाहरु, न्यायलय, संसद्, राष्ट्रपति, सुरक्षा निकाय सर्बत्र हस्तक्षेप र विकृतिले गर्दा संस्थाप्रतिको विश्वास टुट्दै गएको छ । र समाज नराम्रोसँग अराजकता र निराशातिर जाँदोछ ।’

यी संकटहरु गम्भीर प्रकृतिका रहेको बताउँदै उनले यो कुरा सरकारको जानकारीमा रहेको वा नरहेको केही थाहा पाउन नसकिएको बताए । देश विभिन्न समस्याको चंगुलमा फसिरहँदा पनि अर्थमन्त्रीले अर्थतन्त्र लयमा फर्किँदै छ भनेर भ्रम फैलाएको उनले आरोप लगाए । उनले अर्थमन्त्री प्रकाशशरण महतलाई अर्थतन्त्र कुन अवस्थामा छ थाहा पाउन मुख्य सहरहरुका सटर हेर्न सुझाए ।



प्रतिक्रिया दिनुहोस्