Logo

संसारभरका द्वन्द्वग्रस्त मुलुकहरुलाई शान्तिको बाटो अवलम्बन गर्न गुटेरेसको अपिल



काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका द्वन्द्वग्रस्त मुलुकहरुलाई शान्तिको बाटो अवलम्बन गर्न आह्वान गरेका छन् ।

चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेसले आज शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट विश्वशान्तिका लागि अपील गरेका हुन् ।

‘विश्वभार भइरहेका द्वन्द्व रोक्नका लागि लुम्बिनीबाट म अपील गर्छु,’– गौतम बुद्धको जन्मस्थालको अवलोकनपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

बुद्धको सन्देश, पञ्चशील सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो रहेको पनि उनले बताए । लुम्बिनी शान्तिको मुहान भएको बताउँदै गुटेरेसले लुम्बिनीबाट सबैले सिक्न र भ्रमण गर्न आग्रह गरे । बुद्धको देश र बुद्धको जन्मस्थलमा आउन पाउँदा आफू धेरै खुसी भएको उनले बताए ।

उनले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान गरे । उनले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गरे ।

“शान्ति र मानवता अपरिहर्य विषय हुन्, मानवीयता मर्न दिनु हुन्न”, उनले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ मिल्दोजुल्दो छ । यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ ।”

त्यस्तै, महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरेका थिए । यसअघि उनले शान्तिदीपमा दीप प्रज्ज्वलन गरे । शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उनी पैदलनै गएका थिए ।



प्रतिक्रिया दिनुहोस्