Logo

राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा माघ १० गते चुनाव गराउने आयोगको प्रस्ताव



काठमाडौं,१५ कार्तिक । निर्वाचन आयोगले संघीय संसद अन्तर्गतको राष्ट्रिय सभामा रिक्त हुन् लागेको १९ सीटमा यहि माघ १० गते निर्वाचन गराउन प्रस्ताव गरेको छ ।

बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आफूहरु तोकिएकै समयमा निर्वाचन गराउन तयार रहेको बताउँदै यस्तो प्रस्ताव गरेका हुन् ।

उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताए । यस्तै प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए ।

आउँदो फागुन २० गते राष्ट्रिय सभामा रहेका ५९ मध्ये २० जना सांसद्को पदावधि सकिँदैछ । जसमा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चापाईं, पूर्व परराष्ट्रमन्त्री डा विमला राई पौड्याललगायत रहेका छन् । जसमध्ये १९ पदमा निर्वाचन हुनेछ भने एक जना राष्ट्रपति बाट मनोनीत हुनेछन् । सदस्य रिक्त हुनुभन्दा एकमहिना अघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी विमला राई पौड्याल हाल राष्ट्रपतिबाट मनोनीत सांसद् हुन् ।उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनीत गरेकी थिईन् ।

यी हुन फागुन २० गते पदावधि सकिने २० सांसदहरु

२०७४ को माघमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचित भएकाहरुमध्ये गोलाप्रथाका आधारमा ६ वर्षे कार्याकाल पूरा गरेर २० जना सांसदले बिदा लिँदै छन् । जसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासमेत छन् । उनीसहति एमालेका भैरवसुन्दर श्रेष्ठ, दीलकुमारी रावल थापा पावर्ती, इन्दु कडरिया, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई,कुमार दसौँदी, र डा.विमला राई पौड्याल रहेका छन् । जसमा पौड्याल राष्ट्रपतिबाट मनोनीत हुन् भने पावर्ती राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति हुन् । त्यस्तै भैरवसुन्दर राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक हुन् ।

उता नेपाली कांग्रेसका रमेशजंग रायमाझी, प्रकाश पन्थ, अनिता देवकोटा, र जीतेन्द्र नारायण देवले पनि राष्ट्रिय सभाबाट फागुन २० गतेबाट बिदा लिँदैछन् । उनीहरुमध्ये देवकोटा कांग्रेसकी प्रमुख सचेतक, रायमाझी सांसदीय दलका नेता, र पन्थ दिगो विकास समतिका सभापतिको जिम्मेवारीमा छन् ।

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका विना पोखरेल, महेशकुमार महरा, र हरिराम चौधरीले पनि सांसद पदबाट बिदा लिँदैछन् भने जसपाकी सांसद एवं वर्तमान शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, एकीकृत समाजवादीका सांसद तथा भौतिक पूर्वाधार चथा यातयात राज्यमन्त्री नन्दा चपाई र सिंहबहादुर विश्वकर्माको साथै स्वतन्त्र सांसद डा खिमलाल देवकोटाको पनि फागुन २० गते कार्यकाल सकिने सूचीमा नाम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्