Logo

एमाले मुख्यालयबाट प्रधानमन्त्री प्रचण्डको दाबी : मैले दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु



काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुले जहिल्यैपनि नेपालका दलहरुलाई एकै ठाउँमा ल्याउन पहल गरेको दाबी गरेका छन् । उनले पछिल्लो समय दलहरुबीच विश्वासको वातावरण बन्दै गएको पनि दाबी गरे ।

दसैं, तिहार, छठ र नेपाल सम्वतलगायतका चाडपर्वको अवसरमा एमालेले आज आयोजना गरेको चियापानमा सहभागी भएपछि मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । यसअघि उनले कांग्रेसको चियापानमा पनि छिट्टै सबै दलहरुको बैठक बस्ने र परिवर्तनविरोधी शक्तिहरुलाई जवाफ दिने बताएका थिए ।

एमालेको चियापानमा उनले यस्तो भनेका छन्–‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहल हो। सकारात्मक भएको छ। अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु।’

सो क्रममा उनले आफूले कसैविरुद्ध पनि लाखौं जनता सडकमा उतार्छु नभनेको स्पष्ट पारे । उनले भने,‘अहिले हाम्रो पार्टीको देशभरि नै कडा स्तरमा जनपरिचालन कार्यक्रम चलिरहेको छ । त्यसैलाई पालिका र ३ वटा प्रदेशले मिलेर काठमाडौंमा एकैपटक जनपरिचालन गर्ने भन्न खोजेको हुँ । यसैलाई मिडियाले गलत ढंगले प्रचार गरे ।’

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्