Logo

पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित प्रधानमन्त्री प्रचण्डको चेतावनी : अहिले चुरीफुरी गरेको राम्रो हुँदैन् (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा अहिले अस्थिरता निम्त्याउनको लागि अनावश्यक चलखेल गर्न खोजिएको भन्दै त्यस्ता शक्तिलाई नजिकबाट नियाँलिरहेको बताएका छन् ।

प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले निरंकुश सामन्ती राजसंस्थाले केही पनि नदिएको भन्दै आक्रोश पोखे । उनले भने,”म त के भन्छु भने नेपालमा निरंकुश सामन्ती राजतन्त्रले के दियो भन्ने कुरा नेपाली जनतालार्य राम्रोसँग थाहा छ । सात दशकसम्म के भयो भन्ने कुरा पनि नेपाली जनतालाई राम्रो थाहा छ । नेपाली जनताले उदारतापूर्वक पूर्वराजाहरुलाई सम्मानपूर्वक क्रियाकलाप गर्न छुट दिएका हो । अहिले चुरीफुरी गरेको राम्रो हुँदैन् । कहिलेकाहीँ अचम्म लाग्छ । गणतन्त्रले केही दिएन अनि हाम्रो संस्कार भन्छन् । कोतपर्व के संस्कार हो ? भण्डारखाल पर्व के संस्कार हो ? नारायणहिटीको भयानक हत्याकाण्ड के संस्कार हो ? नमिता समिता हत्याकाण्ड के संस्कार हो ? कलाकारको हत्या के संस्कार हो ? नेपाली जनताको त्याग, बलिदानबाट प्राप्त उपलब्धमाथि प्रश्न उठाउने अधिकार कहाँबाट प्राप्त भयो ?”

उनले देशमा विभिन्न खालका वितण्डा मच्चाउने कुरा गलत भएको टिप्पणी गरे । उनले भने,”म प्रधानमन्त्री हुँदा एकथरीले वितण्डा फैलाउने काम गरेका छन् । यो वितण्डा चल्दैन् । यो अराजकता चल्दैन् । नेपालको इतिहास अनि परिवर्तनको विकासक्रम गणतन्त्रको रक्षा कसरी गर्नुपर्छ जनतालाई थाहा छ । समय आउँदा हामी जवाफ दिन्छौं ।”

राजाको रुपमा ज्ञानेन्द्रलाई फर्काउँछौं भन्ने दुर्गा प्रसाई र रवीन्द्र मिश्रहरुको कुरालाई उनले असम्भवको संज्ञा दिए । उनले भने,”त्यो असम्भव कुरा नबोल्दा राम्रो हुन्छ । विल्कुल असम्भव हो ।”

उनले नेपाली जनताले अब इतिहासको अघि बढेको चक्का पछाडि नफर्काउने दाबी गरे । उनले भने,”गणतन्त्रले दिइराखेको छ । हो, जति हुनुपर्ने हो त्यति भएको छैन् भन्ने मलाई पनि लागेको छ । झण्डै १० वर्ष त संविधान लेखनमा नै लाग्यो, संविधान बनाउन । ऐन बनाउन समय लागिरहेको छ । नेपाली जनता इतिहासको चक्का पछाडि फर्काउन चाहँदैनन् । सरकारले संविधानविरोधी गतिविधिलाई गम्भीर रुपमा लिएको छ । सरकार र दलहरुले संविधानविरोधी गतिविधिलाई सहज ढंगले लिएका छैनन् । म उनीहरुको नाम त लिन चाहँदिन, उनीहरुको केही अर्थ छैन् । सरकार गम्भीर तयारीमा छ । सामाजिक सद्भाव खलबल्याउने काम सह्य हुँदैन् । सामाजिक सञ्जाल र कोठे बैठकहरुमा भ्रम सिर्जना गर्ने कोशिस भैराखेको छ । यसबाट केही हुनेवाला छैन् । यो अगाडि बढिसकेको छ । ०४६ सालको जनआन्दोलनबाट मुलुक अघि बढ्यो । ०६२/६३ को जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो, अब देश समाजवादी गणतन्त्रमा जान्छ । पछाडि फर्किन्छ भन्नु मुर्खाताबाहेक केही होईन । यो बौद्धिक दरिद्रता र दार्शनिक दरिद्रता हो ।”



प्रतिक्रिया दिनुहोस्