काठमाडौं, कार्तिक १६ । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
गत वैशाख २४ गतेबाट सुरु भएको अधिवेशन असोज मसान्तमा अन्त्य गर्ने तयारी गरिएको थियो। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्थगित भएको नेपाल भ्रमण पुनः हुने भएपछि अधिवेशन जारी राखिएको थियो।
चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। त्यसपछि आज दिउँसो दुवै सभाको बैठक बोलाइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । दसंविधानको धारा ९३ मा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।