काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाललाई अँध्यारो युगमा फर्काउने कोसिस नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? यो देशमा मधेसीको एउटा छोरो राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? कि एकजना नेपालकी छोरी राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? ।’
उनले देश सञ्चालन गर्ने कुरामा पीडा भएको हो भने राजनीतिमा विकल्पहरु दिन पनि ज्ञानेन्द्रलाई चुनौती दिए । उनले भने,‘राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस् तर यो व्यवस्थामा प्रश्न गर्ने अधिकार तपाईँलाई छैन् ।’ सो क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भूमिकालाई लिएर पनि आलोचना गरे । उनले भने, ‘सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्छ ।’ उनले एमालेले सत्ताबाट हट्नुपर्ने पीडाले सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी व्यक्त गर्ने काम गरेको आरोप लगाए ।