काठमाडौं, १६ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेताहरुले बाहिर राम्रो कुरा गर्ने अनि भित्र अर्कै काम गर्ने गरेको आरोप लगाएका छन् । उनले देशमा सबै दलहरु स्थानीयदेखि केन्द्रसम्मको सरकारको कुरा गर्दा कतै न कतै सरकारमा सहभागी रहेको पनि बताए ।
प्रतिनिधिभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने-“नेताहरुले बाहिर एउटा भन्नुहुन्छ, अनि भित्र अर्कै गर्नुहुन्छ । बाहिर त कति राम्रो भनिदिनुभएको छ, लोकतन्त्र छ । गणतन्त्र छ । हिजो राजतन्त्रको निरंकुशता ढाक्नको लागि पनि पञ्चायती व्यवस्था एउटा ढाल चाहिएको थियो । रावणले सीतालाई अपहरण गर्न जोगीको भेष चाहिएको थियो । अहिले हाम्रा लुट्नेहरुलाई गणतन्त्र र लोकतन्त्र एउटा ढाल भएको छ । के यसैलाई लोकतन्त्र भन्छ ? गणतन्त्र भन्छ ? मुठ्ठीभर नेताहरुको मनोमानीलाई लोकतन्त्र र गणतन्त्रलाई कसरी अपमानित गरिरहनुभएको छ । लोकतन्त्र भनेको मैले बुझेको जनप्रतिनिधिहरुको सर्वोच्चतालाई लोकतन्त्र भन्छ ।”
उनले संसद्मा प्रतिष्पर्धा नभएको पनि जिकिर गरे । उनले संसद्मा मुठ्ठीभरका सांसदहरुको सिण्डिकेट रहेको जिकिर गरे । उनले सत्तापक्ष र प्रतिपक्षले मिलेर देशलाई लुटिरहेको आरोप लगाए । संसदीय समितिको सभापति चयन गर्दा होस वा संसद्मा बोल्ने समय छुट्याउँदा सबैतिर ठूला दलको सिण्डिकेट देखिएको उनको गम्भीर आरोप छ ।