काठमाडौँ, १७ कात्तिक । खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न सहरको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेको छ । विभागले नेपालका विभिन्न भागमा विकसित हुँदै गएको सहरको भूवनोट र उक्त स्थानमा सहर बस्न हुन्छ कि हुँदैन भन्ने उद्देश्यका साथ विसं २०५२ देखि प्रत्येक वर्ष एक सहरको अध्ययन गर्दै आएको हो ।
यस वर्ष सिमराको जीतपुर बजारको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरिएको विभागले जनाएको छ । गत वर्ष महोत्तरीको बर्दिबासको अध्ययन गरेको थियो ।
विभागले हालसम्म काठमाडौँ, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी, भैरहवा, टीकापुर, सिन्धुलीमाडी, हेटौँडा, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा, गुललिया र नारायणघाटको अध्ययन सम्पन्न गरिसकेको छ ।
विभागका महानिर्देशक रामप्रसाद घिमिरेले सहर बसाउनका लागि आवश्यक माटो, पानी, ढुङ्गा, फोहरमैला व्यवस्थापन र नदी किनाराको कटानसम्बन्धी अध्ययन, अनुसन्धान गरी सुरक्षित सहर बसाउनका लागि सम्बन्धित स्थानीय सरकारलाई राय सुझाव दिँदै आएको बताए ।
“सहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारेमा हामीले भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ”, उनले भने । विभागले दिएको राय, सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका घिमिरेको भनाइ थियो ।
सहरको कुन भागमा विद्यालय, अस्पताल, डम्पिङसाइड, अण्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ, कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्ने विषयमा अध्ययन हुने गरेको उनले बताए । उक्त अध्ययनले सहरी विकासमा समेत सहयोग पुग्ने विश्वास विभागको छ । रासस