काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) कोशी प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ । मुख्यमन्त्री केदार कार्कीले आफूहरुसँगको सहमति तोडेर माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई सरकामा सहभागी गराएपछि एमाले नेतृत्वले कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो ।
कार्की नेतृत्वको क्याविनेटमा विनाविभागीय मन्त्री रहेका राम रानालाई राजीनामा गराउने एमालेको तयारी छ । एमाले उच्च स्रोतले जनाएअनुसार मन्त्री रानालाई भोलि नै फिर्ता बोलाउने तयारी छ । कोशीमा एमालेको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको नै सरकार बनाउनुपर्ने दबाब दिएपछि उनले आज माओवादी र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले आजै माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । यद्धपी उनीहरुको जिम्मेवारी भने तोकिएको छैन् । file photo