रुकुम पश्चिम, कात्तिक १८। शुक्रवार राति जाजरकोटको रामिडाँड केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।
उनका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ मा छ जना, वडा नम्बर १२ मा तीन जना, वडा नम्बर १३ मा सात जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हो । त्यस्तै, सानी भेरी गाउँपालिका वडा १ मा चार जना, वडा नम्बर २ मा एक जना र वडा नम्बर ४ मा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका छन् । घाइतेहरूको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रवार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँड केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।