Logo

भूकम्प प्रभावित क्षेत्रमा महामन्त्रीद्वयलाई कमाण्डर बनाएर पठाउने कांग्रेसको निर्णय



काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा पठाउने भएको छ । आज (आईतबार) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले अति विपन्न, घरबार विहीन र विकल्प नभएका मानिसहरु राहत उद्धार र पुनर्स्थापनाबाट बञ्चित नहुन भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ बनाएको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा मिनबहादुर विश्वकर्माले बताए ।

‘अति विपन्न, घरबार विहीन मानिसहरु जसको विकल्प छैन, उनीहरुमाथि कतै अन्याय हुन्छ कि ? उनीहरुले कतै राहत सामाग्री पाउनबाट, पुनर्बासको व्यवस्थापनमा कतै पक्षपातबाट ओझेलमा पर्छन् कि भन्ने कुराका लागि पनि गम्भीरताको साथ लिएर महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगै सबै काम गर्ने गरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भयो,’– प्रचार विभाग प्रमुख विश्वकर्माले भने ।

उक्त समितिले स्थलगत अनुगमनदेखि सबै सामाग्रीहरुको परिचालन, राज्य संयन्त्रको परिचालन, पार्टी पंति परिचालनका बीचमा भएका विषयहरुको अनुगमन गर्ने उनको भनाई छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका एक सय ५७ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै घाईते भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भूकम्प पीडितहरुको राहतका लागि पार्टीले दिने भनेको ५० लाख सहयोग अनुमोदन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्