कमल बुढाथोकी
काठमाडौं,२० कार्तिक । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेश सभा भवन विराटनगरमा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । आजको बैठक प्रदेश सभाको चौथौं अधिवेशनको चौथो बैठक हो । प्रदेश सभामा जारी बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गरिरहेकी छन् ।
कोशी प्रदेशमा तीन महिना भन्दा धेरै दिनदेखि सभामुख पद रिक्त रहेको छ । २०७९ पुस २८ मा सभामुखमा निर्वाचित भएका बाबुराम गौतमले गत साउन १६ गते पदबाट राजीनामा दिएका थिए ।
तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि नयाँ बन्ने सरकारमा सभामुखकै भूमिकामा रहँदा समर्थन गरेका गौतमले आफ्नो कदम सर्वोच्च अदालतले बदर गरेपछि पुनः तत्कालीन मुख्यमन्त्री उद्धव थापा नेतृत्वको प्रदेश सरकारलाई बहुमत पुर्याउन राजीनामा दिएका थिए । त्यसयता प्रदेश सभामा सभामुख पद रिक्त रहेको छ ।
दलहरु सत्ता केन्द्रीत हुँदा सभामुख पद रिक्त
त्यसोत दलहरुले चाहेको भए तत्काल सभामुखको निर्वाचन गर्न सकिने व्यवस्था नेपालको संविधानमा रहेको छ । संविधानको धारा १२८ मा सभामुख र उपसभामुख सम्बन्धीको व्यवस्था रहेको छ ।
उक्त धाराको उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन् भनी उल्लेख गरिएको छ भने त्यही धाराको उपधारा ३ मा प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद पूर्ति गर्ने छन् । भनी उल्लेख गरिएको छ ।
तर, प्रदेश सभाको अस्थिर अंकगणीतका कारण रिक्त रहेको सभामुख पदमा पदपूर्ति गर्ने भन्दापनि सत्ता जोगाउने उपयुत्त रणनीतिमा लाग्दा महत्वपूर्ण पदमा साढे तीन महिनासम्म पनि निर्वाचन हुन् सकेको छैन ।
हाल ९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री रहेका केदार कार्कीलाई ६ सिट रहेको राप्रपाभन्दा बाहेकका दलले समर्थन गरेका छन् । उनलाई विश्वासको मत दिएको र सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दल नेकपा एमाले हालैमात्रै सरकारबाट बाहिरिएको छ । यद्यपि उसले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । एमालेबाहेक हाल मुख्यमन्त्री कार्कीलाई समर्थन गरेका सांसद संख्या ४ रहेको छ । जुन संख्या सरकार टिकाउन आवश्यक ठिक्क बहुमत हो ।
गठबन्धनको नजर राप्रपातर्फ !
आफूहरुसँगको सहमति उल्लंघन गर्दै दुई मन्त्री नियुक्त गरेको भन्दै रुष्ट बनेको एमाले शनिबार सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्की शसंकीत बनेका छन् । एमाले जुनसुकैबेला सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने अवस्थामा रहेको निष्कर्ष निकालेका मुख्यमन्त्री कार्कीले सत्ता सहयात्राका लागि प्रदेश सभामा ६ सांसदसहित निर्णायक रहेको राप्रपासँग छलफल गरेका छन् । स्रोतका अनुसार उनले परीआएमा राप्रपालाई सरकारमा सहभागी गराउने र सभामुख पद जिम्मा लगाउनेसम्मको रणनीति अपनाएको बताईएको छ । तर राप्रपाले भने तत्कालै सरकारमा सहभागी नहुने अडान राख्दै आएको छ ।
हाल प्रदेश सभाको नेतृत्व गरिरहेकी उपसभामुख दनुवार एमालेबाट निर्वाचित सांसद हुन् । यदि एमालेले समर्थन फिर्ता लिएमा र सरकार ढाल्ने खेल सुरु गरेमा उपसभामुख दनुवारले पनि राजीनामा दिने निश्चित रहेको बताईन्छ । उनले राजीनामा दएमा सभामुख निर्वाचित नहुन्जेलसम्म प्रदेश सभाको अध्यक्षता जेष्ठ सदस्यले गर्नुपर्ने र मुख्यमन्त्रीले तीस दिनभित्रमा विश्वासको मतसमेत लिनुपर्ने हुन्छ ।
हाल प्रदेश सभामा सत्तारुढ दल नेपाल कांग्रेसका गयानन्द मण्डल जेष्ठ सदस्य छन् । उपसभामुख दनुवारले राजीनामा दिने र एमालेले समर्थन फिर्ता लिने अवस्था आएमा उनै मण्डलले प्रदेश सभाको अध्यक्षता गर्नेछन् । र उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिन पाउने छैनन् । मण्डलले मत दिन नपाउने र एमाले-राप्रपा दुबैले विपक्षमा मत जाहेर गरेमा कार्की नेतृत्वको सरकार पनि ढल्नेछ । उन नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हुँदा प्रदेश सभा विघटन हुने र मध्यावधिमा जानुपर्ने बाध्यता दलहरुलाई रहेको छ ।
यी सबै घटनाक्रमको सांक्षी रहेका मुख्यमन्त्री कार्की हर-हालतमा राप्रपालाई फकाउने र सभामुख पद दिएर सरकारमा सामेल गराउने प्रयासमा छन् । उनले पटक-पटक प्रदेश सभाको विघटन रोक्न सहमतिको सरकार बन्नुपर्ने बताउँदै आएका छन् । तर, राप्रपाले भने तत्काल संघ र प्रदेश कुनैपनि सरकरामा सामेल नहुने अडान राखेको छ ।
राप्रपा महामन्त्री तथा संघीय सांसद डा.धवल शमशेर जबरा आफूहरु संघीयता विरोधी दल भएकाले कोशी सरकारमा नजाने स्प्रष्ट पार्छन । उनी आफ्नो दललाई कुनैपनि प्रदेश जोगाउने वा मध्यावधि रोक्ने आवश्यक्ता नरहेको दाबी गर्छन् ।
‘हामी सरकारमा जाँदैनौं । यो सरकारमा हामी कुनै पनि हालतमा जाँदैनौं । कोशीमा पनि गएनौं । हामी संघीयता विरोधी हौं, हामी सरकारमा जान हुँदैन भन्ने मेरो सोच हो । पार्टीमा अहिलेसम्म पनि त्यही छ ।’ उनले भने, ‘हामीले किन रोक्न पर्यो मध्यावधि, हामीले किन बचाउन पर्यो सरकार ? हामी त यो संघीयतानै विफल हो, संघीयताले देशलाई देशलाई खोक्रो पार्यो । नेता र कार्यकर्ता पाल्ने काममात्रै भयो । गणतन्त्र र संघीयता देशको लागि फापेन, सुहाएन । यसलाई विघटन गरेर राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र ल्याउन पर्छ भन्ने हामीलाई धेरै चिन्ता छैन ।’प्राईम टाइम्स टेलिभिजनको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।