काठमाडौं,२० कार्तिक । निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित नभएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै फिल्मले समेटेको बताएका छन् ।
‘हाम्रो फिल्म ‘दिमाग खराब’ राजनीतिक फिल्म होइन् । राजनीतिले कसरी हरेक व्यक्तिलाई असर गर्छ त्यो मात्रै दिमाग खराबले देखाउँछ,’ उनले भने, ‘यो व्यक्तिको कथा हो । व्यक्तिसँग जोडिएर राजनीति कसरी आउँछ भन्ने फिल्मले देखाउँछ ।’
हरेक व्यक्ति राजनीतिसँग चाहेर वा नचाहेरै पनि ठोक्किने गरेको उनको भनाई छ । ‘यो एउटा साधारण व्यक्तिको कथा हो । हरेक व्यक्तिले गर्ने संघर्षको कथा हो,’ निश्चलले भने । सिनेमाले दर्शकको दिमाग खराब गराउने विश्वास उनको छ ।
‘स्क्रिनमा देखाउने कुराले दर्शकको दिमाग खराब गराउँछ,’ उनी भन्छन्, ‘जिन्दगीमा धेरै कुराले दिमाग खराब गराउँछ । कहिले आफ्नै कुराले र कहिले अरूका कुराले दिमाग खराब गराउँछ । त्यही नै यो फिल्मले देखाउँछ ।’
अभिनेता खगेन्द्र लामिछानेले आफूलाई निश्चलप्रति पूर्ण विश्वास रहेको बताए । त्यसैले फिल्म राम्रो बनेकोमा आफू विश्वस्थ रहेको उनको भनाई छ ।
‘म सँग दिमाग खराबको सुटिङमा जानु अगाडी धेरै समय थिएन । त्यसैले निर्देशकलाई मैले तपाईले जे काम जसरी लगाउनु हुन्छ, त्यसैगरी गर्छु भनेको थिएँ,’ खगेन्द्रले भने, ‘यो फिल्ममा मैले पहिलो पटक डिरेक्टर्स एक्टर भएर काम गरेको छु ।’
अभिनेत्री स्वस्तिमा खड्काले निश्चलका यसअघिका फिल्म महिला पात्रका सन्दर्भमा ‘वेल रिटन’ नहुने गरे पनि यसपटक भने त्यो समस्या नरहेको बताइन् । ‘मैले दर्शक भएर हेर्दा उहाँका फिल्ममा महिला पात्र वेल रिटन भएको पाउँदिन थिएँ । यो कुरा मैले पहिले पनि भन्थेँ । तर, यो फिल्ममा त्यो समस्या छैन भन्ने लाग्छ ।’
निर्देशक निश्चलले स्क्रिप्ट डक्टर राख्दा धेरै विषयलाई सच्याउने अवसर पाएको बताए । फिल्मभित्रका कतिपय विषयमा स्क्रिप्ट डक्टरसँग गम्भीर छलफल गरेर समावेश गरेको स्मरण गर्दै यसले फिल्मलाई सहयोग गर्ने उनको भनाई छ ।
अभिनेता खगेन्द्रले भने केही व्यक्तिले फिल्ममा स्क्रिप्ट डक्टर राख्ने सुरुवातलाई लिएर आलोचना गरेको भन्दै राम्रो कामको सुरुवात भएको भन्दै त्यसलाई सहयोग गर्नु पर्ने बताए । ‘दिमाग खराब’मा मनोज पण्डित स्क्रिप्ट डक्टरको रुपमा रहेका छन् ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शक फिल्मको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।