काठमाडौं, कार्तिक २१ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ। आइतबार स्थिर रहेर सोमबार तोलामा पाँच सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको हो।
मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार चार सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा २५ रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले घटेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।