Logo

मखमलीले सजिन थाले ताथलीका घर



भादगाउँ (भक्तपुर), २१ कात्तिक । मखमली फूलको मालाले चाँगुनारायण नगरपालिका–९ ताथलीका घर सजिन थालेका छन् । तिहार नजिकिएसँगै ताथलीको बनमाला टोलका घर मखमली मालाले सजिन थालेका हुन् ।

ताथलीका वनमाला जातिको पुर्ख्यौली पेसा फूलखेती हो । विशेषगरी नवदुर्गा देवगणको पूजालाई फूल उत्पादन गर्ने परम्परा बोकेका वनमालाले पछिल्ला केही दशकयता तिहारका लागि मखमली र फूलको खेती गरी माला उनी बिक्री गर्दै आएका छन् ।

विशेषतः तिहारमा भाइटीकाका लागि मखमलीको माला आवश्यक मानिन्छ । त्यसैले तिहार नजिकिएसँगैं ताथलीका वनमाला समुदायसँगै अन्यलाई समेत मखमली फूलको माला गाँस्न र माला सजाउनका लागि भ्याइनभ्याइ भएको छ । ताथलीका बनमाला समुदायको प्रत्येक घरका महिला र पुरुषमात्र होइन केटाकेटीसमेत माला उन्नमा व्यस्त छन् ।

आयआर्जनको प्रमुख स्रोत फूलखेती गर्ने वनमालाको सो क्षेत्रमा तीन दर्जनभन्दा बढी घर छन् । वैशाख–जेठ महिनामा छर्ने मखमली फूल साउन महिनादेखि फूलेपछि भदौदेखि फूल टिपेर माला उन्न लायक हुन्छ ।

दसैँ सकिएलगत्तै मखमली फूलको माला उन्ने चटारो परेको मोतिबहादुर वनमालाले बताए । “मखमली फूल्न थालेपछि असोजको पहिलो सातादेखि नै माला उन्न सुरु भए पनि तिहार नजिकिएपछि भने माला उन्ने चटारो परेको हो,” उनले भने । यसरी उनेका फूलका माला उपत्यकाका विभिन्न स्थानका साथै बनेपा, धुलिखेल र पोखरालगायतका स्थानमा बिक्रीका लागि पठाइने वनमालाले बताए । “यहाँ उत्पादन भएका माला काठमाडौँका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थान तथा बनेपा, धुलिखेल र पोखरासम्म पुग्छ,” उनले भने ।

विगत २७ वर्षदेखि फूलको व्यवसाय गर्दै आएकी दिलमाया वनमालाले फूल व्यवसायले आम्दानी समेत राम्रै हुने गरेको बताए । तिहारमा फूलको माग प्रत्येक वर्ष बढ्दो छ । सयपत्रीलगायतका फूल विदेशबाट समेत आयात हुने भए पनि मखमलीको माला विदेशबाट नआउने भएकाले बजारको अभाव नभएको उनले बताए ।

उनले विगतमा काठमाडौँ लगेर बिक्री गर्नुपर्ने भए पनि आजभोलि घरघरमा व्यापारी आएर थोकमा लैजाने गरेको बताए ।

भक्तपुरको ताथली मात्र होइन गुण्डु क्षेत्र पनि मखमली फूलको पकेट क्षेत्र हो । तत्कालीन जिल्ला विकास समितिको स्थानीय विकास कोषले एक गाउँ एक उत्पादन अन्तर्गत गुण्डुलाई मखमली फूलको पकेट क्षेत्रको रुपमा विकास गरेको थियो ।

सोहीअनुसार अहिले गुण्डु मखमली फूलको राजधानीको रुपमासमेत परिचित हुँदै आएको छ । गुण्डुका स्थानीय किसानले धानखेती छाडेर मखमली फूलको खेती अकाल्दै आएका छन् । त्यसैले यहाँका प्रत्येक घरले मखमली फूलको खेती गरेका छन् । दसैँ सकिएलगत्तै यहाँका किसान पनि मखमली फूल टिप्न र माला गाँस्न व्यस्त छन् । रासस



प्रतिक्रिया दिनुहोस्