सर्लाही, कार्तिक २२ । सर्लाहीको गोडैतामा ट्रयाक्टर पल्टिदा दुईजनाको मृत्यु भएको छ भने अर्का दुई जना गम्भीर घाईते भएका छन् ।
गएराती गोडैता नगरपालिका–८, सिसौटियामा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको थियो ।
घटनामा ट्रयाक्टरका मालिकसमेत रहेका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सहचालक गोडैता नगरपालिका–८, का २८ वर्षका शंकर पटेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेका चालक अशेश्वरको उपचारका लागि बिरगंज दैजाँदै गर्दा र सहचालक शंकरको घटना स्थलमै ज्यान गएको हो । दुबैजनालाई पल्टिएको ट्रयाक्टरले थिचेको अवस्थामा जेसिबिको प्रयोग गरेर प्रहरीले उद्धार गरेको थियो । घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षका रुपेश महतो र रोतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षका जय प्रकाश पटेल गम्भीर घाईते भएका छन् ।
उनीहरु दुबै जनाको प्रादेशिक अस्पताल सर्लाहीको मलंगवामा उपचार भईरहेको जिल्ला प्रहरीका डिएसपी दिपेन्द्र पन्जियारले जानकारी दिए। घटनाको थप अनुसन्धान भईरहेको उहाँको भनाई छ । ट्रयाक्टर प्रहरीको नियन्त्रणमा छ । रासस