जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्र जाजरकोटका लागि पठाइएको सामाग्री पूर्ण अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सल्लीबजारबाट मोडेर रुकुम पश्चिम पुन्याइएको भनी प्रकाशित भएका समाचारमा सत्यता नरहेको बताएको छ । आज (बिहीबार) विज्ञप्ति जारी गर्दै जिप्रका रुकुम पश्चिमले समाचारमा उल्लेख भएको राहत समाग्री वितरणबारे आफूहरुसँग पनि नरहेको र राहत वितरण भएको भनिएको आठविसकोट नगरपालिकामा बुझ्दा पनि राहत उक्त राहत सामाग्री वितरण भएको नपाइएको बताएको छ ।
जिल्लामा विभिन्न निकायहरुबाट प्राप्त राहत सामाग्रीहरु वितरण जिल्ला प्रशासनमा अभिलेखांकन गरी सम्बन्धित स्थानीय तहहरुमा वितरणको लागि पठाउने गरिएको समेत जिप्रका रुकुम पश्चिमले उल्लेख गरेको छ । साथै, विपद्को समयमा यस प्रकारका समाचारहरु सम्बन्धित निकायहरुबाट आधिकारिकता बुझेरमात्रै सम्प्रेषण गर्न गराउन पनि अनुरोध गरेको छ ।
विज्ञप्तिमा जिप्रका रुकुम पश्चिमले भनेको छः
प्रस्तुत विषयमा मिति २०८०/०७/२३ गतेको कान्तिपुर पत्रिकामा प्रकाशित भूकम्प राहतमा पूर्व अर्थमन्त्री शर्माको संवेदनहीन राजनीति शीर्षकमा प्रकाशित समाचारमा सरकार र सार्वजनिक संघसंस्थाबाट जाजरकोटका लागि पठाइएका राहत सामाग्रीका ट्रक शर्माको निर्देशनमा सल्लीबजारवाट मोडेर रुकुम पश्चिम पुन्याई आठविसकोट नगरपालिकामा वितरण गरिएको भन्ने समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेखित राहत सामाग्रीहरुको वितरणको सम्बन्धमा यस कार्यालयमा समेत कुनै अभिलेख नरहेको र सम्बन्धितः आठविसकोट नगरपालिकाको नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्दा समेत उक्त सामाग्री वितरण नभएको जानकारी हुन आएको छ । जिल्लामा विभिन्न निकायहरुबाट प्राप्त राहत सामाग्रीहरु वितरण जिल्ला प्रशासनमा अभिलेखांकन गरी सम्बन्धित स्थानीय तहहरुमा वितरणको लागि पठाउने गरिएको विषय जानकारी गराउँदै यो विपद्को समयमा यस प्रकारका यो र अन्य समाचारहरु सम्बन्धित निकायहरुबाट आधिकारीकता बुझेर मात्र सम्प्रेषण गर्नुरगराउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध छ ।