Logo

जाजरकोटका दुई विद्यालयको पुनर्निर्माण र अभिभावकबिहीन बालकालिकाको शिक्षाको जिम्मा लिने नेविसंघको उद्घोष



काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित जिल्ला जाजरकोटका दुई विद्यालय पुनर्निर्माण गर्ने उद्घोष गरेको छ ।

नेविसंघले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै भेरी नगरपालिका– ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, र नलगाड नगरपालिक– ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको पूनर्निर्माण गरिदिने बताएको हो ।

साथै, भूकम्प प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहारपछि अस्थायी रुपमा बनाउने पनि नेविसंघले बताएको छ ।

भूकम्पमा परी अभिभावकबिहीन भएका बालबालिकाहरूको शिक्षाको जिम्मा पनि नेविसंघले लिने निर्णय बताइएको छ ।

भूकम्पबाट रुकुम पश्चिम र जाजरकोटमा तीन सय ९८ विद्यालयमा पूर्ण क्षति भएको थियो । भूकम्पबाट ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको बताइएको छ ।

नेविसंघले भूकम्पबाट घाईते भएकाहरुको उपचारमा रगतको अभाव हुन नदिन शिक्षण अस्पताल महाराजगन्जमा रत्तदान कार्यक्रम समेत गरेको थियो । साथै, घाइते र कुरुवालाई आवश्यक कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्रीसमेत सहयोग गरेको थियो । नेविसंघले भूकम्पबाट घाईते भएकाहरुको उपचारका लागि डा.नरेश भट्टको संयोजकत्वमा स्वास्थ्यकर्मीको समूह परिचालन गरेको थियो ।

स्वास्थ्यकर्मीको समुहमा डाक्टरहरू सुलभ आचार्य, सुमित बोहरा, अमृत बस्नेतसमेत खटिएको नेविसंघले जनाएको छ । नेविसंघले भूकम्प प्रभावितहरुको राहतका लागि सबै केन्द्रीय सदस्यबाट एक हजारका दरले संकलन गरेर सात लाख ११ हजार सहयोग गर्ने निर्णय गरिसकेको छ ।

साथै, नेविसंघले हिजो र आज गरी करिब सोह्र लाख रुपैया बराबरको राहात सामाग्री जाजरकोट र पश्चिम रुकुममा वितरण गरेको पनि बताएको छ ।



प्रतिक्रिया दिनुहोस्