Logo

प्रक्रिया सुरु नहुँदै सभामुखका लागि लबिङमा कोशीका सांसदहरु,को-को छन् आकांक्षी ?



काठमाडौं,२४ कार्तिक । कोशी प्रदेशमा सभामुख चयनको विषयले प्रदेश सभामा प्रवेश पाएको छ । गत सोमबार बसेको प्रदेश सभाको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सभामुख चयन नहुँदा प्रदेश सभा सञ्चालनमा कठिनाई भईरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

कोशीका तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा दिएका थिए । तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्त सर्वोच्च अदालतले बदर गरेपछि पुनः उनैलाई मुख्यमन्त्री बनाउन बहुमत नपुगेपछि सभामुख गौतमले पदबाट राजीनामा दिएका थिए । उनी प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा माओवादी केन्द्रकातर्फबाट ओखलढुंगाको प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए ।

सभामुख गौतमले राजीनामा दिएसंगै विगत एक सय दिनभन्दा बढी समयदेखि कोशीको प्रदेश सभा सभामुख विहीन रहेको छ । हाल प्रदेश सभाको संचालन उपसभामुख रहेकी सिर्जना दनुवारले गर्दै आएकी छन् । सभामुख चयनका लागि यसअघि पहल नभएको भने होइन् । तर प्रदेशको तरल अंकगाणीतका कारण कुनैपनि दलले सभामुख लिन चाहेका थिएनन् । लामो समयदेखि बेवास्था हुँदै आएको सभामुख चयन प्रकिया अब भने थालिने संकेत देखिएको छ ।

गत सोमबारको प्रदेश सभा बैठकपछि प्रदेश सभाको नेतृत्व गरिरहेकी उपसभामुख सिर्जना दनुवारले तीहार तथा छठलगत्तै राजनीतिक सहमतिका आधारमा पक्रिया सुरु गर्ने बताएकी छन् ।

गठबन्धनको चहनामा राप्रपा

त्यसोत सभामुख चयन प्रक्रिया सुरु भएपनि सत्तारुढ गठबन्धनले भने आफ्नो तर्फबाट दाबी नगर्ने देखिएको छ । हाल मुख्यमन्त्री रहेका केदार कार्कीलाई राप्रपा बाहेक सबै दलको समर्थन रहेको छ । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिएर पनि असन्तुष्ट रहेको नेकपा एमाले प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कार्कीलाई सरकार टिकाउन आवश्यक ठिक्क बहुमत अर्थात ४७ सांसदको मात्र समर्थन रहने हुँदा तत्कालै कांग्रेस, माओवादी र नेकपा एसले सभामुखमा दाबी नगर्ने स्रोतले बताएको छ ।

आफूले सभामुखमा दाबी नगरेपनि सत्तारुढ दलले सभामुखमा राप्रपालाई अघि सार्न चाहेको देखिएको छ । राप्रपालाई कुनैपनि हालतमा सरकारमा ल्याउनुपर्ने निष्कर्षमा रहेका दलहरुले प्रदेशमा एक मन्त्री र सभामुखसहित राप्रपालाई सरकारमा आउन आग्रह गर्दै आएका छन् । तर, राप्रपाले ठोस जवाफ दिएको छैन । उसले तत्काल आफ्नो पार्टी प्रतिपक्षीमा रहने भन्दै एमाले र कांग्रेस मिलेर सरकार चलाउन आग्रह गर्दै आएको छ ।

अर्कोतर्फ राप्रपा केन्द्रीय सरकारमा समेत सहभागी हुने हल्ला लामो समयदेखि चल्दै आएको छ । राप्रपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु सकरात्मक रहेको बताईएको छ । राप्रपामा भने सरकारमा जान हुने र नहुने दुवैतर्फ मत बराबर रहेको हुँदा तत्काल निर्णयमा पुग्न नसकेको बताईन्छ ।

कोशीमा राप्रपा सरकारमा आएमा र सभामुख लिएमा अम्बरबहादुर विष्ट दावेदार हुन । प्रदेश सभामा ६ सांसद रहेको राप्रपाबाट गोपालबहादुर विश्वकर्मा पनि अर्का सम्भावित उम्मेदवार हुनसक्ने बताईएको छ ।

एमालेको सशक्त दाबी

हाल प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमाले पनि सभामुखमा दाबी गर्ने निश्चित देखिएको छ । एमालेले प्रदेश सभामा ठूलो दलको रुपमा रहेको र सरकार बनाउन सहयोग गरेको भन्दै सभामुखमा आफ्नो पार्टीको दाबी स्वतः रहेको बताउँदै आएको छ । एमालेको तर्फबाट उपसभामुसमेत रहेको कारण संविधानत अहिलेकै अवस्थामा उसले सभाुमख पाउने देखिदैन । तर, एमालेले उपसभामुखलाई राजीनामा गराएर सभामुख लिने बताएको छ ।

एमालेको तर्फबाट हालसम्म सभामुखमा वर्तमान उपसभामुख सिर्जना दनुवार र सांसद तिलचन पाठकले दाबी गरेको स्रोतले बताएको छ । एमाले निकट सोतका अनुसार पाठकले सभामुखका लागि आफ्नो दलका साथै अन्य दलका नेताहरुसँग पनि लबिङ गरिरहेका छन् । उनी प्रदेश सभा सदस्यमा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । झापा २ बाटै संघमा निर्वाचित देवराज घिमिरे पनि हाल प्रतिनिधि सभाका सभामुख रहेका छन् ।

उता उपसभामुख दनुवारले पनि आफूले पार्टीबाट मौका पाउनुपर्ने भन्दै नेतृत्व तहमा समेत दाबी प्रस्तुत गरिसकेको बताईन्छ । उनको पक्षमा पूर्व उपसभामुख तथा पूर्व कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिबमाया तुम्बाहाम्फेले साथ दिएकी छन् । एमालेमा दनुवार पाठकका अतिरिक्त हालसम्म सभामुखका लागि अन्य सांसदले दाबी गरेका छैनन् ।

एमालेलाई सभाुमख पद दिन नहुनेमा अहिलेको सत्ता गठबन्धन एकजूट रहेको स्रोतले बताएको छ । एमालेले यसअघि संसदमा देखाएको व्यवहारबाट उनीहरू सशंकित छन् । स्पष्ट बहुमतको सरकार गठन भएको बेला दलीय प्रभावमा पारेर उपसभामुखसहित ज्येष्ठ सदस्यहरूलाई अनुपस्थित गराएर तत्कालीन मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार ढालेको एमालेलाई सभामुख दिन नहुने उनीहरूको दरिलो अडान रहेको छ ।

कोशी प्रदेश सभामा उप–सभामुखसहित एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीबाट एक जना सांसद छन् । प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्