Logo

सरकारले भन्यो- भूकम्प प्रभावितलाई एकद्वार प्रणालीबाटै राहत वितरण भइरहेको छ,हल्लाको पछि नलाग्नु



काठमाडौं,२४ कार्तिक । सरकारले गत शुक्रबार जाजरकोटमा गएकबो भूकम्पबाट प्रभावित बनेकाहरुलाई एकद्धार प्रणालीमार्फत नै राहत वितरण गरिरहेको दाबी गरेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमलगायत जिल्लामा स्थानीय तहको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत् राहत वितरण भइरहेको दाबी गरेकी हुन् । मन्त्री शर्माले सङ्घीयताको असली मर्मअनुरुप स्थानीय तहले पहिलो पङ्क्तिमा रहेर उद्धार र राहत कार्यक्रम गरिरहेको जानकारी दिइन्।

उनले भूकम्प गएको भोलिपल्ट बिहानै प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुगेर निर्देशन दिएअनुरुप तत्काल आवश्यक समन्वयका साथ उद्धार कार्य प्रभावकारीरुपमा भएको बताइन्। उनले भनिन्, ‘राहत र उद्धारमा जे गर्न सकिन्थ्यो त्यो कार्य भइरहेको छ, राहत र पुनःस्थापनाका विषयमा आएका गुनासालाई सरकारले गम्भीरताका साथ लिएको छ।’

विगतको भूकम्पको घटनाबाट पाठ सिकेर स्थानीय तहको अगुवाइमा सर्वदलीय सहमतिका आधारमा एकद्वार प्रणालीका आधारमा राहत वितरणको व्यवस्था गरिएको जनाउँदै मन्त्री शर्माले जात, समुदाय, भूगोल नभइ आवश्यकताका आधारमा राहत वितरण भइरहेको बताइन्।

सत्तारुढ दल माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले जाजरकोटका लागि पठाएको राहत सामग्री बाटोबाटै आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिम पुर्याएको आरोप लागेको थियो । तर, पत्रकार सम्मेलनमा मन्त्री शर्मा उक्त आरोपको खण्डन गर्दै यस्तो काम कोही कसैले सोच्नसमेत नसक्ने दाबी गरेकी छन् । उनले भनिन्, ‘पीडामा परेका जनतालाई राहत उपलब्ध गराउनेमा पक्षपातसम्बन्धी विषय सोच्न र कल्पना गर्नसमेत सकिन्न। पुनःनिर्माणका समयमा नेपाली परम्परा बोकेको रैथाने घर, अरु सामाजिक र सांस्कृतिक सम्पदा संरक्षणमा ध्यान पुर्‍याइने उनले स्पष्ट पारिन्।



प्रतिक्रिया दिनुहोस्