काठमाडौं, २६ कात्तिक । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८० सम्पन्न भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ स्थित पश्चिमटोल ज्यामिरेमा सम्पन्न सो महोत्सवको हुक्केहुक्का प्रतियोगिताको उपाधि विप्लव पञ्जियारको समूहले जितेको छ ।
थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव–२०८० मा पञ्जियारको समूहले उपाधि जितेको हो ।
बेहड्वा थारू होम स्टे– १३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै, रामजानकी समूह हडिया हुक्केहुक्का प्रतियोगितामा तृतीय भएको छ भने शिवशक्ति टोल खैरा सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
विजेतामध्ये प्रथम हुने समूहलाई नगद ५ हजार, द्वितीय हुने समूहलाई ३ हजार, तृतीय हुने समूहलाई २ हजार र प्रमाणपत्र तथा सान्त्वना हुने समूहलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
नेपाल थारू संघ (समाजवादी) को आयोजनामा सम्पन्न महोत्सवमा हुक्केहुक्का प्रतियोगीता गराईको थियो । जसमा १३ वटा समूह सहभागी थिए ।
महोत्सवमा सहभागी हुने टिमहरू थारू सामुदायिक होमस्टे पूर्वटोल जोगीदह, अमृता चौधरीको टोली देवधार, बेहड्वा थारू होमस्टे–१३, अपेक्षा चौधरीको समूह, पदम चौधरी पूर्व टोल ज्यामिरे, सीतादेवी चौधरी पूर्व टोल ज्यामिरे, शिव बाबा मण्डली देवधार, भीम सरदार बाबा कीर्तन मण्डली–९, विपल पञ्जियार समूह ज्यामिरे–९, थारू समुदाय होमस्टे बाल समूह, एकता बाल क्लब मोडिगडा, रामजानकी समूह हडिया, शिवशक्ति टोल चौदण्डिगढी नगरपालिक–१० खैरा र शिवशक्ति युवा क्लव देउरीले प्रतियोगितामा भाग लिएका थिए ।
आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिएको थियो । जसअनुसार हुकेहुकाको बनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन र थारू भेषभूषारपहिरणको आधारमा प्रतियोगिताको मुल्यांकन गरिएको थियो ।
हुक्केहुक्का महोत्सवमा वृहत्त थारू सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो जसमा विभिन्न समूहहरूले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।
त्रियुगा नगरपालिकाका पूर्वमेयर तथा नेकपा (एकिकृत समाजवादी) का पोलिटव्युरो सदस्य बलदेव चौधरीको प्रमुख अतिथ्यतामा महोत्सव सम्पन्न भएको थियो । Photo BY: Dinesh Chaudhary/RN