काठमाडौं, २७ कात्तिक । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई विरोध गर्दा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आलोचनाको सिकार बनेका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक ब्याण्ड गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रक्रिया जनाउँदै महामन्त्री थापाले सरकारले टिकटक बन्द गराएर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका थिए । उनले सामाजिक सञ्जालमा व्यक्त गरेको उक्त धारणालाई लिएर व्यापक आलोचना भइरहेको छ ।
‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’– गगनले सामाजिक सञ्जालमार्फत भनेका थिए ।
उनले पोस्टमा राजु घिमिरे कमेन्ट गर्छन्, ‘सरकारको अहिलेसम्मको सबभन्दा राम्रो काम, जय होस सरकार ।’ त्यस्तै किरण थापा कमेन्टमा भन्छन्, ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ रे ! यो कसलाई भनेको ? यो सरकारको हिस्सेदार गगन थापा कि अरु कोही ? सरकारमा बसेर आफैं निर्णय गर्ने अनि निर्णय सार्वजनिक नहुँदै फेसबुकमा ढुँगा हान्ने ? लाज छैन ? टिकटक मात्र हैन अब यो फेसबुक पनि बन्द गर्नुपर्छ ।’
त्यस्तै, सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो’ भन्ने गगनको भनाइमा केन्द्रीत हुँदै रचन कार्की प्रश्न गर्छन्,
‘भारत, क्यानडा, अमेरिका, न्युजिलेन्ड आदि थुप्रै प्रजातान्त्रिक, मानव अधिकार स्वतन्त्रता भएको देशमा पनि त टिकटक बन्द भएको छ। त्यसलाई के भन्नु हुन्छ महामन्त्री ज्यु ?’
माथिका यी प्रतिनिधि कमेन्टमात्रै हुन । उनले सामाजिक सञ्जालमा पोस्ट गरेको एक घण्टाको अन्तरालमा एक हजार आठ सयभन्दा बढि कमेन्ट आएको छ । जसमध्ये अधिकांश कमेन्ट गगनका विरुद्ध र सरकारको निर्णयको समर्थनमा अभिव्यक्त भएका छन् ।