काठमाडौं,१ मंसिर । कोशी प्रदेश सरकारले महिनाको एकपटक मन्त्रिपरिषद् बैठक धनकुटामा राख्ने भएको छ ।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई धनकुटाबाट ज्ञापन पत्र बुझाउन आएका प्रतिनिधि मण्डलसामू कार्कीले प्रत्येक महिनाको मन्त्रिपरिषद्को बैठक कम्तीमा एक पटक राख्ने प्रतिबद्धता जनाएका हुन् ।
हाल धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय छ । कोशीका संस्थापक मुख्यमन्त्री शेरधन राईले धनकुटामा कार्यालय स्थापना गरेका थिए । तर, उनको कार्यकालमा त्यहाँ एउटा पनि बैठक बसेन । त्सपछि मुख्यमन्त्री बनेका भीम आर्चाय र राजेन्द्रकुमार राईले पनि धनकुटामा कुनैपनि बैठक राख्न सकेनन् । हाल त्यहाँ सहायक कर्मचारीको भरमा कार्यालय संचालित छ ।
। धनकुटाले राजधानीको माग गर्दै लामो समय आन्दोलन गरेको थियो । तर, प्रदेशसभाले मोरङको विराटनगरलाई राजधानी तोक्यो । त्यसपछि विगतको क्षेत्रीय सदरमुकाममा मुख्यमन्त्री कार्यालय स्थापना गरिएको थियो ।
नेपाली कांग्रेस धनकुटाको टोली विकास र समृद्धिका लागि कार्यक्रम माग गर्दै शुक्रबार मुख्यमन्त्री कार्कीसँग भेटघाट गर्न आएका थिए ।