Logo

लप्सीफेदीमा सशस्त्र प्रहरीको बेस क्याम्प राख्ने विषयलाई लिएर झडप, डिएसीसहित तीन जना घाईते



काठमाडौं, २ कात्तिक । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा स्थानीयले ढुंगामुडा गर्दा तीन जना सुरक्षाकर्मी घाईते भएका छन् । प्रहरीले झडपमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शुक्रबार राति चार जना र बाँकी १० जनालाई आज विहान नियन्त्रणमा लिएको हो । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्न लागेको सब स्टेसनको सुरक्षार्थ सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

जिल्ला सुरक्षा समितिको बैठकबाट सबस्टेसनको सुरक्षाका लागि प्रहरी नायव उपरीक्षक (डिएसपी) को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको चेक पोष्ट राख्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उक्त स्थानमा जाँदा स्थानीयले विरोध गर्दा झडपको परिस्थिति बनेको थियो ।

स्थानीयले रुख ढालेर बाटो अवरोध गर्नुका साथै प्रहरीमाथि ढुंगामुडा गरेका थिए । स्थानीयको आक्रमणबाट सशस्त्रका डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाईते भएका छन् ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा जयमान वाईबा, हर्कमान वाईबा, सुकबहादुर तामाङ, सूर्यमान तामाङलगायतलाई हिजो नियन्त्रणमा लिएको थियो । आज अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिका संयोजक रणजीत तामाङसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्