Logo

जाजरकोटमा भूकम्प गयो, माओवादीहरु सरकारी हेलिकप्टरमा गएः केपी ओली



काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटमा भूकम्प जाँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नभएर माओवादी अध्यक्षको हैसियतमा उक्त क्षेत्रमा पुगेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘जाजरकोटमा भूकम्प गयो । माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गए होलान् भनेको मैले माओवादीका अध्यक्ष गएका रहेछन्,’– ओलीले भने ।

भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा अर्को दिन गएका राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको प्रतिनिधित्व गर्दै गएको उनको टिप्पणी छ । माओवादी गएर भनेर कांग्रेसले पनि आफ्नो प्रतिनिधिको रुपमा राष्ट्रपति पौडेललाई जाजरकोट पठाएको उनको भनाई छ । जाजरकोटमा भिआपी र भिभिआईपीको भीड लाग्दा उद्धार, उपचार र राहतजस्ता कार्य प्रभावित भएको उनले बताए ।

जनताको पक्षमा आफूले संसद्देखि विभिन्न ठाउँमा बोले पनि सरकारले सच्चिने लक्षण नदेखाएको उनले बताए । अहिले देखिएका विभिन्न समस्याको कारण गठबन्धन सरकारनै भएको उनले बताए ।

आफूहरुले शिलान्यास गरेको अस्पताल र बाटाहरु नबनेको बताउँदै उनले वर्तमान सरकारलाई विकासप्रति रूचि नरहेको बताए । सरकारले छोरीको हत्यारामाथि कारबाहीको माग गर्दै माइतीघरमा मण्डलामा बसेका आरातीकी आमाबाबुको चित्कार नसुनेको उनले बताए । सरकारले आरतीकी आमाबाबुको चित्कार सुन्नुको सट्टा प्रहरी लगाएर लछारपछार पारेको उनको आरोप छ ।

‘न्याय पाउँ भनेर आरतीकी आमा माइतीघर मण्डलामा छिन् । मेरी छोरी मारिएकोमा न्याय पाउँ भन्ने ब्यानर प्रहरीले लछारपछार पारेर फ्याँक्छ । कस्तो सरकार यो ? अराजकता मच्चाउन पाइने, न्याय माग्न नपाइने ?’ उनले प्रश्न गरे ।

आरतीकी आमाबाबुको चित्कार मानव अधिकार आयोगलले समेत नसुनेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्