काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको प्रतिनिधिको रुपमा भूकम्प प्रभावित क्षेत्रमा गएको टिप्पणी गरेका छन् । आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जाजरकोटमा भूकम्प गयो । माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गए होलान् भनेको मैले माओवादीका अध्यक्ष गएका रहेछन् । …अर्का दिन राष्ट्रपति गए । किन गएका राष्ट्रपति ? उहाँ राष्ट्रपति भएर जानुभएन, कांग्रेस भएर जानुभयो । माओवादी गए भनेर पछिपछि कांग्रेस किन जान परेको राष्ट्रपति ज्यू ?’ ओलीले प्रश्न गरे ।
जाजरकोटमा भिआपी र भिभिआईपीको भीड लाग्दा उद्धार, उपचार र राहतजस्ता कार्य प्रभावित भएको उनले बताए ।