Logo

भूकम्प प्रभावित क्षेत्रमा माओवादी कर्णालीले ३ हजार भोलेन्टियर परिचालन गर्ने



काठमाडौं,३ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरुको उद्धार तथा पुर्ननिर्माणका लागि ३ हजार भन्दा धेरै कार्यकर्तालाई स्वयंसेवकको रुपमा परिचालन गर्ने भएको छ ।

शनिबार बसेको माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीको बैठकले यसअघि २१ सय जना कार्यकर्ता परिचालन गर्ने निर्णय गरेकोमा उक्त संख्यामा थप गरेर ३ हजार भन्दा धेरै पुर्याउने निर्णय भएको छ ।
प्रदेश अध्यक्ष विमला केसीले अध्यक्षतामा बसेको बैठकमा भएको निर्णय अनुसार उक्त स्वयंसेवकले भूकम्प प्रभावितहरुका लागि अस्थायी घर टहरा निर्माण गर्नेछ ।

बैठकमा भएको निर्णय अनुसार प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने छ । यद्यपि कसको नेतृत्वमा पठाउने भन्ने विषयमा अबको केही दिनमै टुङ्गो लाग्ने र तत्काल प्रभावित क्षेत्रमा भोलेन्टियरहरूलाई परिचालन गरिने निर्णय प्रदेश कमिटीले गरेको छ ।

यसअघि शनिबार मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो पार्टीको तर्फबाट भूकम्प प्रभावित नागरिकको अस्थायी आवास निर्माण गर्न ११ सय जना कार्यकर्तालाई जाजरकोट र रुकुम पश्चिममा खटाएको छ ।



प्रतिक्रिया दिनुहोस्