काठमाडौं, ३ मंसिर । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्न सम्भव नभएको बताएकी छन् ।
हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिने भन्ने कुरा सोसियल मिडियामा स्टन्ट गरेर जनमत बनाउने तरिकामात्रै भएको बताएकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भनिन्, ‘लोकप्रिय कुरा, असन्तुष्टिका कुरा, अल्टर कुरा गरेर सोसियल मिडियामा स्टन्ट गरेर जनमत बनाउने पनि तरिका छ । त्यसका लागि भनेको हो यो । उहाँहरुलाई नै जिम्मा दिउँ न त कसरी बनाउनुहुन्छ ? विदेशमा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका छन्, कसरी भोट हाल्न लगाउने ? यहाँ भन्नुहुन्छ तपाईँहरु समानुपातिकमा मतदान गर्न दिने । कसरी समानुपातिकमा भोट हाल्न पाउँछन् त्यस्ता मान्छेले ? जुन मान्छे आफ्नो देशभित्रै छैन । आफ्नो मतदान क्षेत्रमा नभएको मान्छेले कसरी भोट हाल्ने फेसबुकमा ? फेसबुकमा, ट्वीटरमा त भोट हाल्न पाइन्छ । विदेशमा बसेर मतदान म सम्भव देख्दिन ।’