काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई चित्त दुखेको बताएका छन् । आज (आईतबार) एमाले जिल्ला कमिटी भक्तपुरको जिल्ला स्तरीय विस्तारित भेलालाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र एमालेको गौरवको व्यवस्था भएको बताएका हुन् । यो व्यवस्थालाई नेपाली कांग्रेस र माओवादीले गरीखाने भाँडोमात्रै बनाएको उनको टिप्पणी छ । संघीय लोकतान्त्रिक गणतन्त्र माओवादी र कांग्रेसको नक्कली आमाबाबु भएको उनको टिप्पणी छ । यो व्यवस्थाको सक्कली हकदार एमाले भएको उनले बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेकपा (एमाले) को गौरवको व्यवस्था हो । माओवादी र कांग्रेसले यसलाई त गरीखाने भाँडोको रुपमा प्रयोग गरेका छन् । प्रधानमन्त्री हुनका लागिमात्रै यसको नाम लिएका छन् । त्यही भएर यिनीहरुलाई यसको कुनै माया छैन । संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेस र माओवादीको नक्कली आमाबाबु हो । एमालेको सक्ककली आमाबाबु हो । त्यही भएर हामीले यसको पक्षमा कार्यक्रम गर्न परेको छ,’– उनले भने ।