काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले आगमी मंसिर ७ गते माईतीघर मण्डलामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा भक्तपुरबाट १२ हजार नेता/कार्यकर्ता तथा शुभचिन्तक उतार्ने बताएका छन् । आज (आईतबार) एमाले जिल्ला कमिटी भक्तपुरको जिल्ला स्तरीय विस्तारित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, नेता बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई चित्त दुखेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र एमालेको गौरवको व्यवस्था भएको दाबी गरे । यो व्यवस्थालाई नेपाली कांग्रेस र माओवादीले गरीखाने भाँडोमात्रै बनाएको उनको टिप्पणी छ । संघीय लोकतान्त्रिक गणतन्त्र माओवादी र कांग्रेसको नक्कली आमाबाबु भएको उनको टिप्पणी छ । यो व्यवस्थाको सक्कली हकदार एमाले भएको उनले बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेकपा (एमाले) को गौरवको व्यवस्था हो । माओवादी र कांग्रेसले यसलाई त गरीखाने भाँडोको रुपमा प्रयोग गरेका छन् । प्रधानमन्त्री हुनका लागिमात्रै यसको नाम लिएका छन् । त्यही भएर यिनीहरुलाई यसको कुनै माया छैन । संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेस र माओवादीको नक्कली आमाबाबु हो । एमालेको सक्ककली आमाबाबु हो । त्यही भएर हामीले यसको पक्षमा कार्यक्रम गर्न परेको छ,’– उनले भने ।
आगमी मंसिर ७ को कार्यक्रम एमालेले कसैसँग जुधाउने उद्देश्यले आयोजना नगरेको उनको भनाई छ । दुर्गा प्रसाईँतर्फ लक्षित गर्दै उनले उनीहरुले चाहीँ एमालेसँग जुधाउने उद्देश्यले कार्यक्रम राखेको बताए । उनले भने, ‘७ गतेको हाम्रो कार्यक्रम अरु कसैको कार्यक्रमसँग जुदाउने उद्देश्यले राखिएको कार्यक्रम होईन । दुई महिना अघिनै राष्ट्रिय युवा संघको केन्द्रीय पदाधिकारीले टुङ्ग्याएको कार्यक्रम हो । ७ गतेको हाम्रो कार्यक्रमसँग जुदाउनका निमित्त अरु कसैले राखेको हो ।’
आगामी मंसिर ७ गतेको कार्यक्रम संघीय लोकतान्त्रि गणतन्त्रको विकल्प खोज्ने कार्यक्रम नभएको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा असंख्य रिभ्यू गर्नुपर्ने भएपनि एमालेको अघिल्ला पुस्ताले लडेर ल्याएको व्यवस्था भएकाले एमालेलाई यसको माया रहेको उनले बताए । आगमी मंसिर ७ गतेको कार्यक्रम गणतन्त्रलाई संस्थागत गर्नका लागि भएको उनको भनाई छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको असंख्य रिभ्यू गर्न पर्ने कुराहरु होलान् ।….तर, संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने पक्षमा एमाले छैन । हाम्रो लामो बलिदानीबाट प्राप्त, ७० वर्षसम्म हाम्रा अघिल्ला पुस्ताको बलिदानीबाट प्राप्त यो व्यवस्था हो । गणतन्त्रलाई संस्थागत गर्नका लागि ७ गतेको हाम्रो कार्यक्रम हो,’– उनले भने ।
‘मंसिर ७ गतेको कार्यक्रमले एमाले सडकको बाघ हो भन्ने कुरा सिद्ध गराउने उनको दाबी छ । पाँच दल मिलेर चुनाव लड्दा र पार्टी विभाजन गराएर समेत हराउन नसकेको एमालेलाई दुई÷चार जना लफङ्गाले केही गर्न नसक्ने उनको टिप्पणी छ ।
नेकपा (एमाले) सडकको बाघ हो भन्ने कुरा हामीले सिद्ध गर्न चाहेका छौं । अनि कस्ता–कता कहाँ गए मुसाका छोरा दरबार ? पाँच दलले हराउन नसकेको एमाले, पार्टी विभाजन गरेर हराउन नसकेको एमाले, हाम्रा सांसदलाई चोरेर लिएर गएर हराउन नसकेको एमाले अनि एउटा लफङ्गो, अपराधी, भ्रष्ट, तस्करले हामीलाई कमजोर बनाउने ?’ उनले प्रश्न गरे ।
कतिपय एमालेजनले आफूलाई दुर्गा प्रसाईँविरुद्ध नबोल्न आग्रह गरेको स्मरण गर्दै उनले ती एमालेजनमा बौद्धिकताको खडेरी वा कायरता देखिएको टिप्पणी गरे ।
‘त्यो त व्यक्ति हो, तपाईँले त्यसका विरुद्ध बोल्न हुँदैन भन्ने तर्क गर्ने मान्छे पनि देख्छु म । त्यो त फोहोर हो, फोहोरमा ढुंगा फाल्यो भने हिलो लाग्छ भन्ने एमाले पनि देख्छु म । कि ती एमालेहरुमा बौद्धिकताको खडेरी छ, कि ती एमालेहरुमा कायरतापन लुकेको छ । त्यसो भएरको हुनाले यस्ता कुरा गरिएका छन्,’– उनले भने ।
लेवल पढाईमा हुने र लडाइँमा नहुने बताउँदै उनले कसैले खुकुरी लिएर आउँछ भने गर्धन थाप्न नसकिने बताए । उनले आफ्ना नेता तथा कार्यकर्तालाई प्रश्न गर्दै भने, ‘लडाईँमा लेवल हुँदैन, पढाइमा लेवल हुन्छ । हाम्रो कार्यक्रम भइरहेको बेलामा दुईटा बौलाहा आएर लठ्ठी र खुकुरी देखाए भने मेरो त लेवल मिलेन रे गर्धन थाप्नुहुन्छ तपाईँहरु ?’
एमालेले आयोजना गरेको आगामी मंसिर ७ गतेको कार्यक्रममा कोही विरुद्धमा आयो भने हेरेर नबस्ने उनले बताए । आफूहरुको विरुद्धमा आउनेहरुलाई हेरेरमात्रै बस्ने हो भने एमाले हुनुको कुनै अर्थ नरहेको उनको भनाइ छ ।
‘हामी जनताको पक्षमा आन्दोलन गर्दा, सरकारको गतिविधिको विरुद्ध आन्दोलन गर्दा एउटा बौलाहा खुकुरी लिएर हाम्रो विरुद्ध आउँछ , हाम्रो पार्टी अध्यक्षमाथि प्रहार गर्छ, एमालेमाथि प्रहार गर्छ । संगठित ढंगले सोसियल मिडियाका लफङ्गाहरु त्यसका विरुद्ध लाग्छन् अनि हामी ट्वाल्ल हेरर बस्ने हो भने एमाले हुनुको कुनै अर्थ छैन,’– उनले भने ।