Logo

माओवादी र नेसपा एकताका लागि आज पनि बैठक, के गर्लान् बाबुराम ?



काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको पार्टी एकता वार्ता समितिको बैठक बसेको छ । आज (आईतबार) बसेको बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको नेसपा वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठले बताए ।

उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय भएको संयोजक श्रेष्ठले बताए ।

विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषय प्राविधिक कुरा भएकाले संयोजन समितिले सुझाव दिएअनुसार सहमति गरेर अगाडि बढ्न सुझाव दिने आजको बैठकले निर्णय गरेको छ ।

तर, जनयुद्धका सहयात्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्बन्ध चिसिएकाले पार्टी एकताबारे नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको सकारात्मक नरहेको बताइएको छ ।

‘पार्टी एकताको विषयलाई लिएर अध्यक्ष डा. बाबुराम भट्टराई सन्तुष्ट छैनन् नि ?’ भन्ने प्रश्नमा संयोजक श्रेष्ठले भने, ‘सन्तुष्ट र असन्तुष्ट भन्दा पनि यो विषय डेढ वर्ष अगाडिदेखिनै प्रक्रियामा थियो । नेपाल समाजवादी पार्टीको मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक आयोजना गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्