काठमाडौं, ५ मंसिर । नेकपा (एकीकृत समाजवादी पार्टी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले नेपालमा अब राजतन्त्र कहिले पनि नफर्किने बताएका छन् । राजसंस्थाले नेपाललाई दुई सय ४० वर्ष दोहन गरेको दाबी गर्दै उनले अब राजतन्त्र फर्किने कसैले आश नगर्दानै राम्रो हुने बताए ।
हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजसंस्थाले देशमा गरेको अन्याय, अत्याचार र बेथिति नेपाली जनताले बुझिसकेको बताए । दुर्गा प्रसाईँले चाहेकै भरमा नेपालमा राजसंस्था फर्कने कुरा कल्पनामात्रै भएको उनको भनाई छ ।
‘राजतन्त्र फर्किदैन । हिजोको सबै घटनाक्रमहरु नेपाली जनताले बुझेका छन् । राजसंस्थालाई नचिनेको पनि कोही छैन र दुई सय ४० वर्ष यो देशमा राजसंस्थाले यो मुलुकलाई गरेको अन्याय, अत्याचार र बेथिति हो, नेपालाको राजतन्त्रले मुलुकलाई दोहन गर्ने बाहेक अरु केही गरेर । त्यस कारण राजतन्त्र फर्किँदैन । कसैले आश नगरे हुन्छ,’– उनले भने ।
आगामी मंसिर ७ गतेको आन्दोलनमा प्रसाईँले तीस करोड खर्च गरेर आन्दोलनका लागि मान्छे ल्याउँछु भनिरहेको बताउँदै उनले राजसंस्थाको नाममा कुनै पनि जनता मनोभावनाले नआउने दाबी गरे । राजतन्त्र फर्किन्छ भन्ने विषयमा कसैले पनि टाउको दुखाउन आवस्यक नरहेको उनले बताए । प्रसाईँसँग राजतन्त्र, देशको शासन प्रणाली, विकास निर्माण लगायतका विषयमा कुनै भिजन र अध्यन नरहेको उनले बताए । प्रसाईँको हैसियत सबै नेपालीले चिनेको बताउँदै उनले भ्रममा नपर्न सबैलाई आग्रह गरे ।
विगतमा प्रसाईँले नेकपा (माओवादी केन्द्र) सँग नजिक भई परिस्थिति निर्माण गरेर व्यापार गरेको उनले बताए । माओवादी केन्द्रको केन्द्रीय सदस्य नभएको भए अहिले प्रसाईँको यो हैसियत नबन्ने उनको दाबी छ । माओवादीमा पैसाको कुरा उठ्न थालेपछि र आलोचना सुरु भएपछि उनी नेकपा (एमाले) मा प्रवेश गरेको उनले बताए ।
‘अलिअलि व्यापार गर्नुभएको हो उहाँले । व्यापार गर्दा पनि उहाँको पृष्ठभूमि देख्नु भएकै छ । हिजो माओवादी केन्द्रसँग नजिक भएर, माओवादी केन्द्रको केन्द्रीय सदस्य भएर उहाँले एकखालको परिस्थिति निर्माण गर्नुभयो । उहाँ नेकपा (माओवादी) नभएको भए यो हैसियत बन्थेन । त्यहाँ आलोचना हुनथाल्यो, सम्भवतः पैसाका कुरा पनि उठ्नथाले । त्यसपछि उहाँ नेकपा (एमाले) बन्नुभयो,’– उनले भने ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १४ वर्ष जेल बसेका झापाका नरेश खरेललाई केन्द्रीय सदस्य नबनाएर प्रसाईलाई बनाउँदा अहिलेको परिस्थिति निर्माण भएको उनको दाबी छ । प्रसाईँ नाम लिन र टिप्पणी गरिरहन आवस्यक पात्र नभएको उनले बताए । प्रसाईँले बोलेको कुराहरु सत्यतामा आधारित नभएको उनको दाबी छ ।
‘नेकपा (एमाले) बन्दा पनि केपी ओलीले चौध वर्ष जेल बसेको झापाको नरेश खरेललाई बनाइएन । तर, उहाँलाई केन्द्रीय सदस्य बनाइयो । यसरी उहाँलाई उठाएर लिएर आएको मान्छे हो । बुई चढेर आज यहाँ आइपुग्नु भएको छ । हामी यस विषयमा धेरै टाउको दुखाउनै पर्दैन । दुर्गा प्रसाईँको नाम लिँदा मलाई अप्ठ्यारो लाग्छ । किनकी उहाँको नाम लिनुपर्ने, उहाँले बोलेको कु्रा सत्यतामा आधारित, सार्थकता केही छैन,’– उनले भने ।
साथै, अराजकता फैलाउनका लागि प्रसाईँले गरेको कोशिसमा नेपाल सरकार मौन बसेकोमा उनले आपत्ति जनाए । प्रसाईँले विभिन्न बैंकबाट लोन लिएर बैंक डुवाउन खोज्दा पनि सरकारले ध्यान नदिएको उनको आरोप छ । प्रसाईँले जनतालाई प्रोभोक गरेर गलत काम गरिरहेको उनले बताए ।